
माईतीको माया
दाईजो जमीन समेत
साथमा राख्न नपाएकी,
आफ्नो असुरक्षित घरबारी र
बन्धक धुरीभित्र
धनमती ! आफूलाई सुरक्षीत सम्झन्छिन् ।
उसको सपनाको फुलबारी र,
विपनाको सागबारीको झार
उस्तो–उस्तै छ
जसलाई उ चाहेर पनि
मल र जल दुवै गर्न सक्दिन ।
तर सपना जस्तै झार अनि
झार जस्तै सपनाहरुले
उम्रन कहिले पो छोड्दछ र !
उसले आफ्नो रहर र उमेर
दुबै आफ्ना सन्तानमा साँचेकी छे
यसैले उ आफ्नो
अशिक्षित हातको
पौराखले साटी हिड्छ
भावी पिडिको शिक्षितयात्रा
र साटेकी छे
यस्ता कैयौं अशिक्षित औंलाका छापहरु
ती सेता पन्नाहरुसित
जसले असुरक्षित बनाएको छ
उसलाई आफ्नै घर–आगनमा ।
उ त असुरक्षित छे
समाजको नजरमा
किनकि.. कुनैदिन
उ र उ जस्ता कैयौं
मिलेर बनाएको समाजले
अहिले बाँडीहिँड्छ
उसको लाचारीको विज्ञापन,
टाँसिहिँड्छ उसको सपनाको
व्यङ्गयात्मक पोस्टरहरु
बनाईदिन्छन्
झुठो सहानुभूतिका मनग्गे हेडलाईन्सहरु ।।
वि.सं.२०७७ असोज १७ शनिवार ०८:५३ मा प्रकाशित






























