
उसले सुत भन्यो
म उसले भने जस्तै सुतें
उसले उठ भन्यो
म चुपचाप उठें
उसले बस भन्यो
म खुरुक्क बसें
उसले ल हिंड भन्यो
म सुरुसुरु हिंडे
उसले नाँच न भन्यो
म छ्मछ्मी नाचें
उसले आदेश दिइरह्यो
मैले मानिरहें, मानिरहें
सबै कुरा ठिकठाक चलिरह्यो ।
एकदिन उसले हक सम्झाउन थाल्यो
मैले मंगलसुत्र फुकालेर दिएँ
सिउँदो धोइपखाली गरें
त्यसपछी त्यो कैदखानाबाट
बाहिर निस्कें
आनन्दले मुक्तिको सास फेरें ।
एकदिन उसले भन्यो
तेरो के अस्तित्व छ म बिना ?
जवाफ थिएन म चुप लागें
मेरो मौनतामा ऊ आगो भयो
अँ साँच्ची !
त्यो दिन मैले खुब सोचें
आफैलाई नै धेरै प्रश्न गरें
सिउँदोलाई नियालेर हेरें
त्यहाँ रंग मात्र थियो माया थिएन
मंगलसुत्र छामेर हेरें
त्यसमा बन्धन मात्र थियो समानता थिएन
निधारको बिन्दी निहारें
त्यसमा चमक थियो तर गरिमा थिएन ।
त्यसदिन देखि
मैले आदेश मान्न छोडें
कठपुतलीबाट
मानिस बन्न खोजें
स्वतन्त्रता चाहन थालें ।
एकदिन उसले हक सम्झाउन थाल्यो
मैले मंगलसुत्र फुकालेर दिएँ
सिउँदो धोइपखाली गरें
त्यसपछी त्यो कैदखानाबाट
बाहिर निस्कें
आनन्दले मुक्तिको सास फेरें ।
वि.सं.२०७७ असोज १७ शनिवार ०८:५६ मा प्रकाशित






























