गैरआवासीय नेपाली संघको भाषा, साहित्य, संस्कृति तथा सम्पदा प्रवर्द्धन समिति र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) का पदाधिकारीहरूको संयुक्त अनलाइन बैठकले आउँदो श्रीपञ्चमीका दिन उन्नाइस वर्ष मुनिका गैरआवासीय नेपाली युवाहरूबिच अन्तर्राष्ट्रिय नेपाली कविता प्रतियोगिता’ संयुक्त रुपमा आयोजना गर्ने निर्णय गरेको छ ।
दुवै संस्थाका पदाधिकारहरुको आइतबार बसेको बैठकले उक्त निर्णय गर्दै विजयी प्रथम हुने युवा कविलाई रु एकलाख र प्रमाणपत्र, द्दितीयलाई पचास हजार, तृतीयलाई पच्चीसहजार र अङ्ग्रेजी विधातर्फका उत्कृष्ट एक कविलाई पच्चीस हजार र प्रमाणपत्रले पुरस्कृत गरिने बताइएको छ ।
कार्यक्रम आयोजना गर्न गठन गरिएको संयुक्त समितिको संयोजकमा सर्वज्ञ वाग्ले (अमेरिका) र सदस्यहरू महेश्वर पन्त (अमेरिका), तीर्थ सङ्गम राई (कतार), डा. केशव शर्मा (अस्ट्रेलिया), विमला निरौला (अमेरिका), गणेश खड्का (अफ्रिका) , गिरिजा गैह्रे ( जापान ), विष्णुमाया विभू (नर्वे) र महता घिमिरे (अस्ट्रेलिया) रहेका छन् ।
त्यसैगरि समितिको सल्लाहकारमा प्रा. डा. हेमनाथ पौडेल (नेपाल प्रज्ञा प्रतिष्ठान), गैरआवासीय नेपाली संघका भाषा, साहित्य, संस्कृति तथा सम्पदा प्रवर्द्धन समितिका अध्यक्ष हिक्मत थापा र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज केन्द्रीय समितिका अध्यक्ष प्रकाश पौडेल माइला रहेका छन् ।
बैठकमा अनेसासका अध्यक्ष प्रकाश पौडेल माइला, वरिष्ठ उपाध्यक्ष गोवर्ध्दन पूजा, महासचिव सर्वज्ञ वाग्ले, सचिव विमला निरौला, कोषाध्यक्ष कृष्णकुमार गिरी, सदस्यहरू निजानन्द मल्ल, डा. रेणुका सोलुलगायतका पदाधिकारीहरू र एनआरएनए भाषा, साहित्य, संस्कृति तथा सम्पदा प्रवर्द्धन समितिका अध्यक्ष हिक्मत थापा, उपाध्यक्षहरू महेश्वर पन्त, हरि पौडेल, बेलुकाजी थापा, सदस्य सचिव भगवती बस्नेत लगायत पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।
बैठकले नेपाली भाषा र साहित्यको प्रबर्द्धनका लागि आगामी दिनहरूमा संयुक्तरुपमा कार्यक्रमहरू गर्दै लैजाने समेतमा छलफल गरेको थियो ।
वि.सं.२०७७ असोज १९ सोमवार ०९:१४ मा प्रकाशित






























