back
CTIZAN AD

कथाः दुई कथा

वि.सं.२०७७ असोज २४ शनिवार

2.7K 

shares

सखाम र ढुङ्गेको उकालो अनि दिउँसो बाह्र बजेको टन्टलापुर घाम । सर–सर हावाको बेगसंगै सुकेका सालको पातहरु सर्ल्याङ सुर्लुङ झरिरहेछन् । अनि ढेंडु बाँदरहरुको चाङ चुङ आवाजले शून्यतालाई छिचोली रहेछ ।अरुण नदि आफ्नै सुरमा बेग हानी रहेछ । हातमा सानो हाते झोला र पसिना पुछ्ने रुमाल अनि पिठ्युँमा सुट्केशको सानो पोको बोकेर उकाली सँगै मीत लगाएर सुस्केरा लाउंदैछु म । दशैं आउन लागेकोले होला वारिपारी देखिने घरहरु कमेरो र रातोमाटोले पोतेर चिटिक्कै देखिन्छन् । मनमा थोरै उमंग अनि पिडाको एक थुप्रो बोकेर उकालो चढ्दा अलिक जाँगर चलेको छैन । चार पाँच साल पहिलेसम्म यहि उकाली ओराली हरुमा पचास किलोको अदुवा र सुन्तलाको भारी खकन र तोक्माको सहारामा बोकेर सहजै तरिन्थ्यो । तर आज पाइला नै साह्रै गह्रुङ्गो भाको छ । किन किन मन एक तमासले रोएको छ घर फर्कने खुसिमा पनि ।

बोतलमा भरेर बोकेको पानी पनि अमृत समान नै सकिएछ । साँची साँची एक–एक घुट्को पिउदा पनि आधा बाटो नपुग्दै बोतल खाली भो । यता उता नजिकै पानी पाउने आशा पनि छैन । अब पानी पिउनलाई माथी पिपले मै पुग्नु पर्छ । तिर्खाएर सुकेको घाँटी अनि थाकेका गह्रौँ पाइला लिएर म उकालो चढी रहेछु । दिनको मध्यान्ह भएकोले होला ओहोर दोहोर गर्ने बटुवाहरु पनि छैनन् । यो सखाम र ढुङ्गेको उकालोमा कि अरुण नदिमा मुर्दा जलाएर फर्केका मलामिको साथी भेटिन्छ नत्र बाघ बादरलाई नै आफ्नो सहयात्री सम्झेर कम्मर कस्नु पर्छ ।

ज्यान गलेर लखतरान नै भैसकें । एकछिन बिसाउन मन लाग्यो । अरुण नदिको चिसो चिसो हावाले कता कता मनमा शितलता दिईरहेको थियो । म आफ्नो झोला लाई बेलको रुखमुनीको चौतारिमा बिसाएर ठूलो ढुङ्गामाथी चढेर बसें । सारै आनन्दको सास फेरें । अरुण नदिको सुसाई सँगै सुस्तरी सुसाउने बतासलाई आफ्नो फोक्सोभित्र सक्दो भरें । भोकले भन्दा पानी प्यासले रिङ्गटा लाग्ला झै भाको ज्यानमा अलिकती भएनी अरुणको चिसो बतासले राहत मिले झैं भयो । केहिछिनको विश्रामपछि हिड्ने तरखर गर्न थालें । झोला काँधमा राख्न लागेको थिएँ कता कता टाढा सानो बच्चा रोएको आवाजले म झस्किएँ । यत्रो घना जँगल बिच कहाँ कसको बच्चा रोएको होला ? मनमा कौतुहलता जाग्यो । फेरि ठूलो ढुङ्गाको माथी टुप्पोमा चढेर हेरें । तल उकालोमा एकजना थुन्चे बोकेको महिला आफ्नो सानो बच्चालाइ काखमा झुन्डाएर उक्लिई रहेको देखें।जाने बाटो एउटै अनि ऊनि पनि एक्लै मलाइ पनि बाटो काट्ने मेलो गफ गर्दै जान हुने सोचले पर्खेर जाने बिचार गरें ।

केही बेर पश्चात ऊनि आईपुगिन् । त्यही चौतारिको एक कुनामा थुन्चे बिसाईन् । सायद दुई बर्ष जत्तिको बच्चा होला काखमा रोईरहेको थियो । बच्चालाई फुल्याउन थालिन् । मखमली चोलो छिट्को गुन्युँ अनि नौ गेडि तिलहरी र प्वाँलो माला किराँती पहिरनमा सजिएकी ती अर्धबैशे महिलालाई देख्दा कता–कता आफ्नै चेली हुन कि जस्तो आभाष भयो मलाई । बोलचाल गर्ने बाहानामा म ऊनको छेऊ गएँ ।
‘दिदी साह्रै तिर्खा लागेको थियो यसो पानी बोक्नु भएको छैन ?’

‘ओहो भाइ ! पानी त बोकिएन हौ । हेर्दा त राई बान्तवा माइतिराजा जस्तै देखिनु हुन्छ । बरु कोशेली रक्सी बोकेको छु पिउनु हुन्छ र ?’ मुसुक्क हाँस्दै ऊनले भनिन् ।

‘अब बर्षौं पछि अन्जान चेलीको हातको सगुन कसरी नकार्न सक्छु र दिदी ?’ मैले पनि हांसेर जवाफ दिएँ । हाम्रो किराँती परम्परा अनुसार सुम्निमा पारुहाङको प्रसादको रुपमा कोहि पनि चेलिबेटी आफ्नो माइती सँङ्ग भेट्दा या भेट गर्न जाँदा मकै, कोदोको रक्सी कोशेली स्वरुप बोक्ने चलन छ । छुट्टिने दोबाटो या भेटिने चौतारीमा कोहि बटुवालाई नि आफ्नो माइति सम्झेर सगुन स्वरुप एक घुट्को भएनी त्यही रक्सिले माया साट्ने किराँती परम्परा नै हो ।

ऊनि छेउमा भएको सानो सालको बोट बाट दुई चार पात टिपेर दुना गाँसिन र एउटा दुना मलाई दिइन् । थुन्चेबाट चिन्डो निकालेर बिर्को खोलिन अनि दुनामा रक्सी हालिदिइन। ‘किराँती चेली हुँ आफ्नो सँस्कृती प्यारो लाग्छ के गर्नु ?’ उनले अरु सेलरोटी पनि थुन्चेबाट निकालेर मलाई दिईन !! यति बेला सम्ममा हामी आफ्नो मातृभाषा राई बान्तवा भाषा बोल्न थालिसकेका थियौं ।

ऊनि असाध्यै फर्साइलो र मिजासिलो स्वभावकि रहेछिन् । हाँसेर बोल्ने ठट्टेउली पारामा साह्रै मीठो कुरा गर्ने ऊनको बानीले ऊनिसँग बोलिरहन मन लाग्यो । तीन चार दुना रक्सी पिएर पानीको प्यास रक्सिले मेटाएं । सेल रोटिले त झन भोक मात्र होइन यमराजको अगाडि देखिनै चेलीको मायाले तानेर ल्याए जस्तो लाग्यो । ‘लौ दिदी अब जाऊं होला । हजुरको कोशेली पनि खाइयो साह्रै खुसी लाग्यो । मैले त आफ्नै चेलीलाई भेटेको महशुस गरें ।’

‘हुन्छ भाइ जाऊँ अब । तपाईं त छोरा मान्छे छिटो हिड्न सक्नु हुन्छ । अगाडि लाग्नोस म बिस्तारै आउछु नि हुन्न भाइ ।’ ऊनले भनिन् ।
‘होइन दिदी हिड्नै गाह्रो भैरहेछ मलाई नि ! बिस्तारै सङ्गै जाम न गफ गर्दै । बरु तपाईको नानी मलाई दिनोस म बोकिदिन्छु । खासै मेरो भारी नि छैन । तपाईको त टन्नै कोशेलिको भारी रहेछ ?’ मैले प्रश्न गरें

‘हो नि भाइ ! बुढापाका आमा बाबा छन अनि काका, दाइ हरु छन । बर्ष दिनमा भेट्न जान लागेको । अलि अलि हातको शोभाऊ लगिदिनै पर्यो ।’
सानो छोरि मेरो काखमा दिदै ‘लौ त ! भाइ सघाउने रहर गरिहाल्नुभो । अब मैले पनि आफ्नै भाइ जस्तो सम्झिएर दिएँ । नानी बोक्न सघाउनुस् । तपाईले बिहे गर्नु भएको छ कि छैन कुन्नी नानी बोक्न आउला के ?’ हाँस्दै नानीलाई अँकलले बोक्नु हुन्छ है भन्दै एउटा तौलियाले बेरेर काखमा राखि दिईन् ।

‘बिहे त गरेको छैन नाना तर भाइ बहिनी हुर्काएको छु । केटा केटि फकाउन र खेलाउन आउँछ ।’ नानिलाई काखमा लिदै मैले भनें । भर्खर तोते बोली बोल्न लागेको नानी मुसुक्क हाँस्दै मेरो काखमा आयो । मैले तौलियाले लपेटेर छातिमा टाँसेर बोकें ।

‘अँ साँच्ची !! दिदी यो नानिको बाबा चाहिँ नि कता हुनुहुन्छ ?’ मैले अचानक प्रश्न गरें ।
मेरो प्रश्नले खोइ किन हो ऊनको हसिलो मुहार एक्कासी बादल मडारिए जस्तो अँध्यारो भयो । कता कता भावनामा डुबे जस्तो अनि ऊनको आँखामा आँसु टप्किएला जस्तो देखें ।

‘लौ भाइ बाटो लागौ अब भरै फेरि साँझ पर्छ । तपाईं त झन पारी नै पुग्नु पर्ने रहेछ फेरि अबेला हुन्छ ।’ मेरो प्रश्नको जवाफलाई टार्दै थुन्चेको नाम्लो शिरमा राखिन र अगाडि हिँडिन् । मैले नि आफ्नो झोला बोके अनि नानिलाइ अंगालोले बेरेर ऊनको पछि लागें ।

कता कता मनमा कौतुहलताले सताईरहेको थियो । किन यसरी ऊनको श्रीमानको बारे सोध्दा जवाफ दिईनन् । पक्कै केही दुःख त छ । फेरि सोध्न मन लाग्यो तर रिसाउने पो हुन कि भन्ने डरले सोध्न हिम्मत भएन । बिस्तारै बिस्तारै सूर्य पश्चिम तिर ढल्दै थियो । गर्मीको तेज अलिक घट्न थाल्यो चराचुरुङ्गीहरु पनि अलि अलि गर्दै कराउन थाले । ऊनको मनमा के थियो थाहा भएन तर मलाई भने छट्पटिले साह्रै सताउन थाल्यो । जे त होस् एकचोटी सोध्छु मनमा हिम्मत जगाएँ र भनें ‘दिदी नरिसाउनु होला फेरि पनि सोध्ने हिम्मत गरें । यो नानिको बाबा कहाँ हुनुहुन्छ ? किन अँध्यारो मुख लाउनु भएको मेरो प्रश्नमा ?’

थुन्चे बोकेको नाम्लोमा थाप्लोलाई हत्केलाले साहारा दिदै खुईईईया सुस्केरा हालेर उकालोमा उभिदै ऊनले भनिन् !! ‘खोइ भाइ कथाहरु बेग्लै छन् भनेर भनी साध्य छैन । कसरी सुनाउँ म तपाईलाई ! खाटा बसिसकेको छ घाऊ, फेरि आलो बनाउन चाहन्न भाइ ।’ बरु तपाईं भन्नोस् कहाँ देखि आउनु भएको ? बोलिचाली र व्यवहार देख्दा पक्कै बिदेशबाटै फर्कनुभएको होला जस्तो लाग्छ । तर तपाईंको झोला अनि अनुहारको न्यास्रोपनाले चाहिँ खासै सुख पाएर फर्किए जस्तो देखिन्न ।’ मेरो प्रश्नलाई अझै पनि टार्न खोज्दै मेरो बारेमा सोधिन् ।
‘दिदी मनको घाऊ जत्ती लुकायो त्यति नै चिरा पर्छ । छोटो चिनजान भो भाइ भन्नू भो आफ्नोपन महशुस भयो मलाई नि ! त्यही भएर जान्न चाहें अन्यथा नलिनु होला ।’ अलिकती नजिकपन दिलाउन चाहेँ मैले ।

‘एउटा चेलिको आँखाले कहिले धोका खादैन कमैले तपाईको आँखा हेरेर थाहा पाइसकें । धेरै नै ब्यथा बोकेर हिड्नुभएको छ भाइ । किन कि हाम्रो ब्यथा एउटै छ, मैले महशुस गरिसकें । तपाईं आफ्नो बारेमा पहिला बताउनोस् त्यसपछी म आफ्नो कथा ब्यथा सुनाउनेछु । ऊनले मेरो बारे जान्ने उत्सुक्ता राखिन् ।

एकाबिहानै ठूलो बसमा हालेर लान्थ्यो अनि एउटा कन्स्ट्रक्सन साइटमा छोडेर जान्थ्यो । दिनभरी गैती र कोदालो चलाउनु पर्ने । पचास डिग्रीको गर्मीले गैती र बेल्चाको बिँड पनि आगोको भुङ्ग्रो बाट निकालेको अगुल्ठोले जस्तै पोल्ने । हत्केला भरी ठेला उठेर खाना खान समेत चम्चाले खानु पर्ने हुन्थ्यो । हामी ढिडो सिस्नो पाँच औंलाले मुछेर ग्वाम ग्वाम खाने मान्छे लाई चम्चाले कति गाँस निल्न सकिएला र ? जे त होला आएको खर्च उकासेर जाउला भन्ने सोच राखेर राम्रै काम गर्दै गएं दिदी । तर दुई तीन महिना पछि कम्पनिले तलब नै दिन छाड्यो । कम्पनिमा तलब माग्न जाँदा काम गर्दै गर पछि एकैचोटि पाउछौ भन्दै फकाई फुलाई गर्न थाल्यो । दुई चार महिना त काम गरियो तर तलब दिने कुरै गरेन । सोधखोज गर्न जादा उल्टै हामिलाई धम्क्यायो तिमेरुलाई तिमेरुको एजेन्टले तीन–तीन लाखमा मलाई बेचेर गाको हो त्यो सबै तिमेरुको तलब बाट कटाउछु । त्यसपछि पो थाहा भो कि हामी त बेचिएका पो रहेछौँ ।

पहिला त ढाँट्न खोजें काठ्माण्डौ तिर पढ्न गाको दशै मनाउन फर्कदैछु भनेर । तर, ऊनले एक रति बिश्वास गरिनन् । ‘भाइ ढांट्न नि जान्नु पर्छ । तपाईको बोली र आँखामा प्रष्ट झुट झल्किदैछ,अनि एउटा दुःख र पीडामा रुमल्लिएको चेलिको आँखालाई यत्ती सजिलै ढाट्न सक्छु भन्ने नसोचे हुन्छ । थुन्चेको नाम्लो माथी हातले अडेसो दिदै उभिएर मेरो आँखामा हेरेर ऊनले भनिन् ।

दिदी दुःख पीडा त हुन्छ्न नै सबैको, तर मेरो पीडा अलिकती फरक छ । आफ्नै पीडा ऊनि सामु पोख्ने बिचारले मैले शुरु गरेँ । ‘बर्षौं देखि गुम्सिएका बेदनाहरु छन्, खोइ कसरी पो सुनाऊँ हजुरलाई । मेरो मनको पीडा पनि तपाईले आँखामा हेरेर बुझ्नु भो ‘झुटो बोल्न नि सकिनँ’ । हरेश खाएको भनुम शरम लाग्छ तर हिम्मत हारिसकेको छु । आफ्नो पिडालाई अलिकती ऊनको सामु बिसाउन खोजें ।

‘यस्तो भरिभराऊ जवान भएर नि कस्तो लाछी कुरा गरेको भाइ । तपाईको उमेर त अहिले पत्थर फोडेर हिरा फलाउने उमेर हो । के नै त्यस्तो दुःखले मन फाट्यो हौ भाइको ?’

सिरसिरे बतास सङगै लामो सास फेरें र आफ्नो बेदना शुरु गरें ।

दिदी सोंचे जस्तो जीवन कहाँ हुदो रहेछ र ?? म पनि जोशिलो र मनमा केही गर्छु भन्ने हिम्मत भएको युवा थिएं । एसएलसिको पढाइपछि गाऊँमै केही गर्छु भनेर धेरै मेहेनत गरें । पशुपालन देखि लिएर तरकारी खेतीसम्म गरें । तर आफ्नो आवश्यक्ता पूरा गर्न धौ–धौ नै भो । आफ्नो पढाइलाई अगाडि बढाउने पनि कुनै उपाय नै रहेन । आफ्नो गाऊँमा उच्च शिक्षा अध्यन गर्ने स्कुल क्याम्पस पनि छैन त्यसको लागि शहर नै जानू पर्छ । गरिबी र अभावले झन झन दिन दुई गुना रात चौ गुना पिरोल्न थालिसकेको थियो । साहुको ऋणको ब्याज र बाबा आमाको थाप्लोमा दिनरात साहुको भारी अनि डोको नाम्लो देखेर एक्लै रुन्थें । सात ठाऊँ फाटेर टालेको आमाको फरिया र चोली अनि जाडो या गर्मी कहिल्यै नफेरिएको बाबाको मैलो कमिज फेर्ने जिम्मेवारि मैले नै लिनुपर्छ जस्तो लाग्न थाल्यो । दिन दिनै भाइ बहिनीहरु हुर्कदै थिए । ऊनिहरुको पढाइ खर्च जुटाउनु थियो । एउटि चेलिको बिहे यो गरिबीबाट बाहिर निस्केर गराउनु थियो । अनि एउटा मेरो भाईको मार्गदर्शक बन्न बाबालाई सहयोग पुर्याउनु पर्छ भन्ने सोचेँ । यि सबै गाऊँमै बसेर सम्भव देखिन दिदी मैले ।

त्यसपछी हजारौ युवाहरु जस्तै म पनि मिठो सपनाहरु बुन्दै बिदेश जाने निर्णय गरेंं । बाबा आमा भाइ बहिनीले नसम्झाएको पनि होइन ।
‘सुख दुःख यहि बसेर गर ! अर्काको देशको गुलामीले धनी बनेर सुखी हुनु छैन । मर्ने बेलामा छोरालाई परदेश पठाएर कलेजो टुक्रा पार्नु छैन’ भन्दै टिल पिल आँसु झार्दै आमाले मेरो बाटो छेक्नु हुन्थ्यो । माइतिको दुई शब्द आशीर्वाद भए पुग्छ अरु नौरँगी चाहिन्न ! बिन्ती छ हामिलाई छाडी बिदेश नजानु भन्दै बाटो छेकेर बहिनीले आँसु बगाउँथिन । तर पनि सबैको माया र आर्शीवाद सँगाल्दै अनि हजारौ सपनाहरु बुन्दै साहुको ऋण माथी ऋण थपेर आज भन्दा दुई बर्ष अगाडि खाडी मुलुक दुबइ पुगेको थिएँ ।

पराई मुलुकमा पाइला पर्नासाथ मेरो हजारौ सपनाहरु तुहिएको महसुस गरें । एयरपोर्टमा ओर्लिदा नै उम्लिई रहेको खड्कुलोमा मुख चोबले जस्तो गर्मी महसुस हुन्थ्यो । जुन जुलाईको अत्यधिक गर्मी सास फेर्न सम्म गाह्रो थियो । आउन आइ हालियो जे त होलानी ??

कम्पनिको पुरानो कोठा झ्याल ढोकाहरु नि मक्किएर ढल्न लागेको जस्तो घर । त्यहांँभित्र एउटा सानो कोठामा दस बाह्र जना खांदिएर बस्नु पर्ने । मलाई त अचम्म लाग्यो दिदी ! बाहिरबाट हेर्दा गगनचुम्बी महलहरुको देश अनि त्यही भित्र यस्ता धमिराले खाइसकेका घर हरु । अलि अलि चिसो हावा फ्याँक्ने थोत्रो ए सि घ्याँरररर गर्दै चल्छ । कुन दिन त्यो पनि बन्द भयो भने उसिनिएर मर्नु पर्छ । ठ्याक्कै भेडा बाख्राको जस्तो जिन्दगी शुरु भयो । जसो तसो आइहालियो दुःख त गर्नै पर्यो साहुको ऋण मात्र उकासेर भएनी फर्कन पाए हुन्थ्यो जस्तो लाग्न थाल्यो । न भाषा मिल्छ न खानपिन नै मिल्छ चार पाँच जना भारतियहरु अनि पाकिस्तानी र बँगालिहरुको बिचमा म एक्लो नेपाली । पहाडको आँटो पिठो खाएको मान्छे खानपिन त जसो तसो खाँउला भाषा नबुझ्दा साह्रै दुख पाएँ दिदी ।

आफू भलो त जगतै भलो भने जस्तै सबैसँग मिजासिलो व्यवहार गरे सबै आफ्नै हुने रहेछन् । बिस्तारै सबैसँग घुलमिल हुन थालें । एक दिन दुई दिन गर्दै ऊनिहरुको भाषा पनि बुझ्न र बोल्न थालें । आफ्नो देशमा मात्र फलाना र ढिस्काना गरिदो रहेछ पराई मुलुकमा त आफ्नो शत्रु नै भेटे नि अँगालो हालेर रोईदिऊँ जस्तो लाग्दो रहेछ ।

एकाबिहानै ठूलो बसमा हालेर लान्थ्यो अनि एउटा कन्स्ट्रक्सन साइटमा छोडेर जान्थ्यो । दिनभरी गैती र कोदालो चलाउनु पर्ने । पचास डिग्रीको गर्मीले गैती र बेल्चाको बिँड पनि आगोको भुङ्ग्रो बाट निकालेको अगुल्ठोले जस्तै पोल्ने । हत्केला भरी ठेला उठेर खाना खान समेत चम्चाले खानु पर्ने हुन्थ्यो । हामी ढिडो सिस्नो पाँच औंलाले मुछेर ग्वाम ग्वाम खाने मान्छे लाई चम्चाले कति गाँस निल्न सकिएला र ? जे त होला आएको खर्च उकासेर जाउला भन्ने सोच राखेर राम्रै काम गर्दै गएं दिदी । तर दुई तीन महिना पछि कम्पनिले तलब नै दिन छाड्यो । कम्पनिमा तलब माग्न जाँदा काम गर्दै गर पछि एकैचोटि पाउछौ भन्दै फकाई फुलाई गर्न थाल्यो । दुई चार महिना त काम गरियो तर तलब दिने कुरै गरेन । सोधखोज गर्न जादा उल्टै हामिलाई धम्क्यायो तिमेरुलाई तिमेरुको एजेन्टले तीन–तीन लाखमा मलाई बेचेर गाको हो त्यो सबै तिमेरुको तलब बाट कटाउछु । त्यसपछि पो थाहा भो कि हामी त बेचिएका पो रहेछौँ ।

अब के गर्ने मुद्दा मामिला लडौं भने चिने जानेको कोहि छैन । अनि न भाषा छ, न कुनै आफ्नो मान्छे ! कसरी अर्काको देशमा अधिकारको लागि लड्ने ? सिरानिलाई साक्षी राखेर सुम्निमा पारुहाङ सम्झिदै हर रात धुरु धुरु रुन्थेँ दिदि ????

यस्तैमा मेरै जस्तो पीडा भोगेको एउटा बँगाली साथिले भन्यो अब भागौं यहाँबाट अनि इलिगल रुपले काम गरौं । दुई चार पैसा बनाएपछि जाम्ला नि आफ्नै गाऊँ !! यहाँ फोकटमा किन आफ्नो हाड घोटी रहनु ? मलाई पनि सहि लाग्यो अनि आधारातमा कोठाको झ्यालबाट हाम फालेर कम्पनी छोडेर भागियो ।

तँ चिता म पुराउछु भन्छन रे भगवानले ! त्यस्तै सानो तिनो रेस्टुरेन्टहरुमा काम गर्दै भए नि दुई चार पैसा साहुको ऋण घटाइयो । आफुलाई खान बस्नको ब्यावस्था भयो त्याहाँ । खुसिको साथ नै जसो तसो दिनहरु चल्दै थियो ।

यस्तैमा त्याहाँको सिआइडिले मलाई इलिगल काम गरिरहेको भनेर समात्यो । मैले सबै कुरा भनेँ, कम्पनीको मालिकले तलब नदिने भएकोले भागेको हो यहाँ खुसी छु खान बस्न पाएकोछु । दुई चार पैसा परिवारलाइ पठाउन पाएको छु । सबै बृतान्त सुनेपछी मेरो बारे पुरानो कम्पनिमा सोध्खोज गर्यो । अनि मेरो बारे सबै बिबरण संकलन गर्यो । एक हप्ता जेलमा राख्यो दिदी । पुरै ज्यानमारा कैदी जस्तो । गर्मीले पाकिने ठाऊँमा बिना एसी भेडा बाख्रा झै कोचेर राख्यो सास फेर्न गार्हो हुन्थ्यो। कहिले काहीँ त आत्महत्या गरुं, जस्तो लाग्थ्यो दिदि !

यस्तैमा त्यहाँको चाड इदमा सानो तिनो गल्ती भएकालाई माफ दिने भन्ने नियमले करिब हामी नेपाली र अरु देशका गरि चार पाँच सय जनाले माफी पायौं । एउटा कपडासम्म फेर्न नपाई हामिलाई सिधै एयरपोर्ट ल्याइयो । धन्न संगै बसेका साथिहरुलाई एक फोन गर्न पाएँ मैले र मेरो लाउने लुगाहरु सम्म एयरपोर्टमा पुराइदिए । साथीहरुले एक÷दुइकिलो चकलेट किनेर ल्याइदिए अनि खाली हात आउन परेन मैले । जहाँ गए नि नेपाली मन अनि नेपाली माटो कहिल्यै सुबास छर्न नछोड्ने रहेछ । म पनि त्यही सुबास अनि माया बोकेर बिदेश बाट फर्केको हुँ दिदी ।

दिदी ! अब त मेरो कहानी सुन्नु भो ! मनमा जे होस् तर भोगेको दुखलाई महशुस गरेको छु यहि केही गरेर बस्ने हिम्मत जुटाएर आएको छु । अर्काको गुलामिले कमाएको लाख र पसिनाले रुझेको आमाको काख यहि आमाको काख प्यारो सम्झेर फर्केको हुँ । मरे बांचे यहि माटोलाई आफ्नो ज्यान अर्पेर फर्केको हुंँ । अब तपाईं नि आफ्नो मनमा लुकेको ब्यथा भन्नुस न नाना मन हल्का हुन्छ ! कति दिन पो आफ्नो मनको पीडालाई रोकेर राख्नु । मैले पनि एउटा माइती नै बनेर तपाईको आँखामा नियालेको छु । एउटि चेलिको आँखाले माइती नियाल्छ भने माइतीको मन पनि फरक हुदैन रोएको नै हुन्छ ।

मेरो धेरै कुरा सुनेपछि दिदिले आफ्नो थुनचे चौतारिमा बिसाउँदै पसिनाको धारालाई हत्केलाले पुछेर भनिन भाइ मेरो पनि कथा त्यही हो । भाइ ! तपाईं त सुख दुख भोगेर आफ्नो माटो टेक्न आईपुग्नि भो ! मेरो सिन्दुर त उतै अस्ताउनु भो !

गाऊ घरको मेलापातको दोहोरी होस् या देउसी भैलोको मारुनी नाँच सार्है रैसिएर नाच्नु हुन्थ्यो । वहाँको चन्चले स्वभाव अनि निश्चल र निश्कपट मन आनि बानिले मलाई सार्है मोहनी लाएको थियो । तपाईकै जस्तो गम्भीर सोचमा डुबे जस्तो अनि सधै केही कुरा मनमा खेलाए जस्तो देखिने अनुहारले म लट्ठै भएको थिएँ । वहाँको पनि साहुको ऋण उकास्ने बाबा आमालाई दुई गाँस मीठो मसिनो ख्वाउने सपना सहित बिदेशिनु भएको थियो । बिदेश जानू अघि मलाई पधेरोमा भेटेर धेरै रुनु भो मैले त झन आँसु थाम्न किन पो सक्थेँ र ? धेरै बाटो छेकें हरेक बहानाहरु तेर्स्याएँ तर एक चोटि बिदेश जाने निर्णयमा नै पुग्नु भो वहाँ !

समय बित्दै गयो वहाँ पनि दुबईको मरुभुमी पुग्नु भो । काम राम्रो हो या नराम्रो हामिलाई ढाटेको हो या साँचो हो, धेरै राम्रो काम पाएको छु भन्नू हुन्थ्यो । हरेक महिना चिठी लेख्नु हुन्थ्यो, एक बर्ष भित्र सबै साहुको ऋणहरु तिर्नु भो अनि अर्को एक बर्षको कमाई लिएर छुट्टिमा आउनु भो ।

समय बित्दै गयो, हाम्रो मायाको चिनो गर्भमा रहेको समाचार मैले सुनाउदा खुसिले पागलसरी रुनु भएको थियो । अब दुई महिनाभित्र म सबै कुरो मिलाएर आउछु भन्नू हुन्थ्यो । तर एकदिन खबर आयो वहाँ सुतेकै ठांऊमा अस्ताउनु भो रे । बेलुका खाना खाएर सुतेको मान्छे बिहान अस्ताउनु भो भन्ने खबर आयो । केही समय त समाचार झुटो हो जस्तो लाग्यो तर वहाँको लास रातो बाकसमा आयो तब सपनालाई पनि बिपना नै स्विकार गर्न बाध्य भएँ । यस्तै हो भाइ तपाईं दुखले दुखाएर फर्कनु भो मेरो सिन्दुर दुखले अस्ताउनु भो । फरक यति हो कि ! दुःख सबैको एउटै हो तर भोगाई फरक हुदो रहेछ । तपाईं भोगेर फर्कनु भो मेरो सिन्दुर भोगेर अस्ताउनु भो ।

छुट्टिमा आउदा चुरा पोते सिन्दुर अनि बिहेको रातो सारी लिएर मलाई पर्पोज गर्नु भएको थियो । आँखा–आँखाले मायाको भाका बोली सके पनि मुखले माया गर्छु भन्दा धेरै लाज लाग्दो रहेछ । सहर्ष मनले स्विकार गर्दै वहाँ सँग बिबाह बन्धनमा बाधिए। धुम धाम हाम्रो बिहे भयो । दुई महिनाको छुट्टिमा हामी धेरै घुम्यौं । हनिमुनको लागि पोखरा करिब पन्ध्र दिन बसेका थियौ । पुर्ब इलामदेखि पश्चिम पोखरासम्म एक महिनाभित्र घुम फिर गरेर वहाँ आफ्नो कर्मथलो जाने दिन आयो । धेरै रोएँ म नजानु यहि दुःख जिलो गरेर बसौला भनेर हर तरह बाटो छेकें तर अब यहि अन्तिम पल्ट हो कम्पनिको सबै हिसाब किताब लिएर चाडै फर्किन्छु भन्दै वहाँ फर्किनु भो ।

समय बित्दै गयो, हाम्रो मायाको चिनो गर्भमा रहेको समाचार मैले सुनाउदा खुसिले पागलसरी रुनु भएको थियो । अब दुई महिनाभित्र म सबै कुरो मिलाएर आउछु भन्नू हुन्थ्यो । तर एकदिन खबर आयो वहाँ सुतेकै ठांऊमा अस्ताउनु भो रे । बेलुका खाना खाएर सुतेको मान्छे बिहान अस्ताउनु भो भन्ने खबर आयो । केही समय त समाचार झुटो हो जस्तो लाग्यो तर वहाँको लास रातो बाकसमा आयो तब सपनालाई पनि बिपना नै स्विकार गर्न बाध्य भएँ । यस्तै हो भाइ तपाईं दुखले दुखाएर फर्कनु भो मेरो सिन्दुर दुखले अस्ताउनु भो । फरक यति हो कि ! दुःख सबैको एउटै हो तर भोगाई फरक हुदो रहेछ । तपाईं भोगेर फर्कनु भो मेरो सिन्दुर भोगेर अस्ताउनु भो ।

पोहोर वहाँको नासो जन्मियो, ठ्याक्कै बाबाकै अनुहार छ सायद भगवानले मलाई बरदान नै दिएको हुनुपर्छ । सासू ससुराले छोरी सरह व्यवहार गर्नु हुन्छ अनि यो नानीको अनुहारले मेरो सिन्दुरको एक धर्को कहिले मेटिन दिदैन । अनि माइतिको रुपमा सयथुङ्गा सयपत्री त उनिन होला तर ओखरले बाधा फोर्नको लागि तपाईं जस्तो माइती दोबाटोमा भेटे । धन्य लाग्छ मेरो जीवन अनि वहाँको आत्मा कति महान होला जस्तो लाग्छ ।

कुरो गर्दै पाइला सार्दै जादा समय बितेको पत्तो नै भएनछ । गोधुली साझ भसकेको थियो पिपलबोटको दोबाटो आइसकेछ । दिदिले थुनचे बिसाउदै ल भाइ अब त हाम्रो छुट्टिने दोबाटो नि आइपुगेछ भन्दा पो झसंग भएँ ।

ए हो त नि नाना, साझ परि सक्यो ल बिस्तारै जानू होला तर दोबाटोमा भेटेको माइतिलाई मुलढोकामा ओखर फोर्दा नबिर्सिनु ल ?
भाइ तपाईहरु अल्लारे मान्छे साइनो गास्नु हुन्छ भोलि बिर्सनु हुन्छ तर एउटि चेली चाहे जन्मको होस् या कर्मले दोबाटोमा भेटिएको माइती उत्तिकै मनमा सजाउन फुल उनेको हुन्छ । ल भाइ छुटौ अब भन्दै अघि टिपेको सालको पातको दुनामा एक दुना रक्सी दिनु भो मैले आखामा टिलपिल आँसु पार्दै रक्सी पिएँ अनि नानी उनको काखमा दिएँ ।

छि !!!! भाइ त छोरी मान्छे जस्तो कस्तो आँसु थाम्न नसक्ने रहेछ भन्दै उनले पनि पछ्यौराले आँसु पुछ्दै नानी बोकेर उकालो लागिन् ।
दोबाटोमा आफ्नो पाइला अड्काएर म आँसु पुछ्दै हेरि रहे झिसमिसेमा पछाडी नफर्की दिदी उकालो लाग्नु भो। बच्चा मेरो काख देखि छुट्टिएर हो कि किन हो कहालिएर रुदै थियो । बिस्तारै टाढिदै जादा बच्चा रोएको पनि मधुरो हुँदै गयो । म आफ्नो गर्हुंगो पाईला आफ्नो गन्तव्य तिर सार्दै गए ।

भोलि भेट होला या नहोला चेली माइतिको नाता त गासियो । बाचा निभाउन सकिएला कि नसकिएला दोधारे मन लिदै अनि मेरो र उनको गरि दुई कथालाई सम्झिदै आफ्नो घर तिर लम्किएँ ।।।।

वि.सं.२०७७ असोज २४ शनिवार १०:१८ मा प्रकाशित

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

काठमाडौं । गजलकार जिबी सुनारद्वारा लिखित गजल संग्रह ‘पार्शल’ शनिबार...

कविता : सबै पाका मान्छे अनुपम हुन्

कविता : सबै पाका मान्छे अनुपम हुन्

कृष्णप्रसाद पौडेल 'जस्ताघरे' विदुर.-४,बट्टार, नुवाकोट यहाँ बाबा माता शिखरपथका हुन्...

सुसेली

सुसेली

खगेन्द्र बस्याल,बुटवल १ बत्ती बाल्नु छ सबै मन चहक काम...

झिल्का कविता

झिल्का कविता

हितमान छन्त्याल (सहोदर ) पोखरा, कास्की १. पहाडमा मेरो बास...

चारु ( हिन्दी )

चारु ( हिन्दी )

पी एस यादव 'अजनबी',भारत गुनाह तो कर बैठे अब कोई...

गजल

गजल

अरुण खड्का,कीर्तिपुर बात गर्दै ढल्छ मान्छे जिन्दगीको के भरोसा स्वार्थ...