
नदी र नारी उस्तै उस्तै
कोमल, निश्चल अनि कञ्चन
नारीसँग हृदय छ
नदीसँग छैन
नारीसँग दुःरव्ने मुटु छ
नदीसँग छैन
तथापी नारी आँफूलाई
तुलना गर्छे नदीसँग ।
ऐना हेर्दै सोह्र श्रृङ्गार गर्छे
मानौ ऊ
उषा मुस्कुराउने छाल हो
औला लहराउदै कपाल कोर्छे
मानौ ऊ
इन्द्रेणी डाक्ने कीनार हो
हजार व्यथा सहेर
बाहिर मुस्कुराउछे
पीडा बोकी
एकान्तमा खहरे बन्छे
र सहनशीलताले किच्दै छिचोल्छे
बिपत्तिका गल्छिडाहरु
मानौ ऊ
शान्त मन्दाकिनी हो ।
नदी जस्तै,नारी आफ्नो कथा कहिल्यै भन्दिन
ऊ चाहान्छे
प्रियजनले भावना बुझिदियोस्
संसार रित्याएर
आँफूमा माया पोखिदियोस्
ममताको स्पर्शले हरदम चुमी दियोस् ।
जसरी नदी रोकिदैन
धारलाई स्पर्श गर्दै अधि बढ्छ
प्रकृतिको नासो सिञ्चिदै क्षितिज भेट्छ
त्यसैगरी रोकिन्न नारी
वंशको नासो सिञ्चदै अघि बढ्छे
नदी किनारलाई साथ लिएर बग्छ
नारी जीव र जीवनलाई साथ लिएर हिड्छे ।
समुद्र भेटेपछि
पराई भएपछि नारीको पहिचान फेरिन्छ
जसरी समुद्र भेटेपछि
नदिको अस्तित्व विलीन हुन्छ ।
नदी र नारीको गन्तव्य उस्तै
सँधै नयाँ मोड
सँधै नयाँ दिशा
नारी नदी जस्तै पवित्र हुन्छे
नदी नारी जस्तै निश्चल हुन्छ ।
वि.सं.२०७७ असोज २४ शनिवार १०:४२ मा प्रकाशित






























