
भुवन जन विरामी दुष्ट जीवाणु बाट
अकुशल छ घरा नै सृष्टि सारा उराठ
विष वमन गरे झैँ मृत्यु छन् आसमान
असहज प्रतिकूलै यो दशैँ भो नमान
मुलुक पनि छ उस्तै जिन्दगी बच्न गाह्रो
समय भय लिएका देख्छु काँडो तगारो
न त वर पर सर्ने गर्न सक्छन् जवान
मिलन पथ विनाको यो दशैँ भो नमान
घर घर डुलुवाको निम्ति काँडा लगाइस्
र मुलुक भँडुवाको निम्तिमा मुस्कुराइस्
सहज बल तिनैमा देश बेचेर खान
जन हलचल रोक्ने यो दशैँ भो नमान
न जन समुह छन् यो राष्ट्रका निम्ति बोल्ने
न खल दल दुहाई शान्तिको मार्ग खोल्ने
कति कति जनता नै पारिएका चिहान
भय मय सुविधाको यो दशैँ भो नमान
अति असफलताले काइ या लेउ लाग्ने
थुर थुर मन काँप्दै जिन्दगी छेउ लाग्ने
अति विषम ज्वरो झैँ थेग्न सक्दैन ज्यान
छ भुसु भुसु निदाको यो दशैँ भो नमान
छन्द : मालिनी
वि.सं.२०७७ कात्तिक १५ शनिवार ०९:०४ मा प्रकाशित






























