
नेपाल प्यारो जगमा विचित्र
माया असाध्यै छ सदा मभित्र ।
भुलेर कर्तव्य म चुक्नु हुन्न
यो स्वाभिमानी शिर झुक्नु हुन्न ।।१।
खुँडा छ लाग्ने म उठाउनेछु
यी हात छन् पाउ जुटाउनेछु ।
बनेर भो कायर लुक्नु हुन्न
यो स्वाभिमानी शिर झुक्नु हुन्न ।।२।
यो ज्यान जाला रण लड्नुपर्छ
हौँ वीर लड्दै अधि बढ्नुपर्छ ।
लुकेर बाटो तर ढुक्नु हुन्न
यो स्वाभिमानी शिर झुक्नु हुन्न ।।३।
निमित्त माटो जल निम्ति मर्छु
यो राष्ट्रको खातिर लागि पर्छु ।
वैरी सरेमा अधि बढ्न दिन्नँ
यो स्वाभिमानी शिर झुक्नु हुन्न ।।४।
स्वाधीनता होस् अनि देश प्यारो
भाषा छ उस्तै अनि भेष प्यारो ।
आएर भो कान म फुक्न दिन्नँ
यो स्वाभिमानी शिर झुक्नु हुन्न ।।५।
उपजाती छन्द
वि.सं.२०७७ कात्तिक १५ शनिवार ०९:०७ मा प्रकाशित






























