
नकोट्याउनु पुरानो घाउ फेरि दुख्छ साथी,
वर्षायामको उर्लँदो खहरे छिट्टै सुक्छ साथी ।
मेहनत र पसिनाको मुल्य नबुझ्दै अघि बढे,
मै हूँ भन्ने अहमवादी एकदिन झुक्छ साथी ।
आरोप प्रत्यारोप मात्र हरेक ठाउँमा राख्दा,
सत्य मार्गका ठेलीहरू पक्कै लुक्छ साथी ।
असल काम गर्दै बढ्दा सलबलाए लाछीहरू,
निरन्तर अगाडी बढ्दै गन्तब्यमा पुग्छ साथी ।
लुकिछिपी चोरी गर्छौ विकासे भाषण छाँट्दै,
छट्टु स्याल देखेपछि कुकुर भुक्छ साथी ।
गलत बाटो अङ्गालेर गल्ती सत्य हुन्छ भन्दा,
जति ढाकछोप गरेपनि अब तुना फुक्छ साथी ।
वि.सं.२०७७ कात्तिक १५ शनिवार ०९:१२ मा प्रकाशित






























