
मिल्दैन भाव कविता मनमा छुँदैन
पोख्दैछु तैपनि कला रसिलो हुँदैन
रोकिन्छ शब्द मनमै लयबद्ध छैन
बग्दैन काव्य गतिलो रसरङ्ग छैन ।१।
बल्झेर दुख्छ दिल भित्र अदृश्य पीडा
सुक्दैन आँसु छ सधैं किन हो अनिद्रा
रोकिन्छ धड्कन यसै बह नासिँदैन
बढ्दैछ याद अति यो मन शान्त छैन ।२।
विश्वास छैन अब ता प्रभु छन् धरामा
आस्था हटेर धमिलो मनको गरामा
आनन्द हुन्न जहिल्यै अझ तिर्सना छ
सिद्धिन्छ जीवन कथा तर यादमा छ ।३।
सुन्दैन दैव पनि नित्य पुकार गर्छु
आत्तिन्छ जीवन यसै भयभित्र पर्छु
चिन्ता र रोदनसँगै वय सिद्धिँदैछ
यात्रा अनन्ततिर आलय रित्तिँदैछ ।४।
जन्मेर पाउ भवमा जब सर्न थाले
बाधा र अड्चनहरू तब पर्न थाले
साँच्चै मिठो छ र त सुन्दर मृत्युघाट
फर्किन्न आखिर कुनै तन घाटबाट ।५।
छन्द: वसन्ततिलका
वि.सं.२०७७ कात्तिक २२ शनिवार ०८:२२ मा प्रकाशित






























