
आमा मेरी पल पल पुगिन दुःखका टाकुरामा,
राखिन् आफ्नै सृजन लहरा आफनै पाखुरामा ।
भोकै प्यासै बसन उनका नेत्र कैल्यै रुझेनन्,
प्यारा प्यारा मुटुहरु त खै उन्का लागि दुखेनन् ।१।
यिन्कै हाँसो लिन कति हिँडिन् ठण्डी गर्मी भनिनन्,
वर्षा बाढी तरर पसिना खास उन्ले गनिनन् ।
छोरी भन्दै कति त उनले भ्रुण फालेर रोईन्,
मन्दिर् भित्रै लुटिँदा यिनले रक्तले तन धोईन् ।२।
बोक्सी भन्दै कुटिनु यिनको चाला नौलो भएन
नारी सत्ता भएनि गतिलो चाला हाम्रो भएन ।
छाउ गोठ्मै मरण कतिको दाइजोको सिकार,
यस्तो चालाचलन नहटे जुनि हुन्छ धिकार ।३।
जागौँ नारी दलन ननिको फाल्न उर्लेर आज,
बाली ज्वाला दनदन अझै फेर्नु पर्छ समाज ।
आमालाई चलन घटियाबाट फुक्का बनाऊ,
आमा हाम्री असल मणि हुन् माथ राखी सजाऊ ।४।
छन्द: मन्दाक्रान्ता
वि.सं.२०७७ कात्तिक २२ शनिवार ०८:२५ मा प्रकाशित






























