
यतिखेर मान्छे
समुन्द्रमाथि
बादल ओढेर
छितिजमा ठोक्किरहेछ
हिँउका फूलहरूसँग ।
कसैको आँखामा जीवन फुलेको छ
कसैको आँखामा मृत्युको पर्खाइ
अनि कसैलाई आर्यघाट पर्खिरहेछ
मलामी बोकेर
यिनै दृष्य, अदृष्य भोगाइहरू
टुलुटुलु हेरिरहेछ मान्छे
उदाङ्गो संसारको
एक छिँडिबाट
उज्यालो पर्खिएर ।
यात्रामा निस्किएको वटुवा जस्तो
घामपानी छल्दै
जीवन भोगिरहेछ मान्छे
आगोको लप्कामा बसेर
धुँवाको मुस्लो निलिरहेछ
तर पनि
जिउँने सपनाहरू मरेका छैनन्
खुसी साट्न छोडेको छैन
उदारोमा भए पनि
मृत्यु विरुद्धको लडाइँ लडिरहेछ ।
वर्तमान
जति अँध्यारो भए पनि
जून बालेर आउँदैन रात
अन्धकारै भए पनि
आशाहरू मरेका छैनन् ।
जति जीवन गले पनि
मान्छे निडर जस्तो
अभिनय गरिरहेछ
र
उसैसँग लडिरहेछ
जित्नकालागि
अनि
यो समय
आशीर्वाद र शुभकामना
पर्खिरहेछ मान्छे
अस्पतालको मूल ढोकामा ।
वि.सं.२०७७ कात्तिक २२ शनिवार ०८:५१ मा प्रकाशित






























