
जून लजाएर लुकेपछि
अन्धकार रातमा उसका आँखा बन्द भए
संसार सून्य भयो
हेर्न चाहेर पनि देख्न सकेन
यौटा युग अन्त भयो
बिहानीपख जब उज्यालो फर्कियो
चराहरू चिच्याए
भाले बास्यो
नयाँ उमगंको शंघनाद गरेर
आँखा मिच्दै उठ्यो
धारामा गयो हातमुख धोयो
काँधमा रूमाल
कम्मरमा धोती कसेर उही बाटो फर्कियो
रात बिहानीमा बद्लिएपनि
माटो र बाटो बदलिएन
धारो बद्लिएन
पानीको निर्मलता बद्लिएन
गति बदलिएन
बाटोबाट परको आकाश नियाल्यो
घाम बिस्तारै चर्कदै थियो
चम्किलो हुदै थियो क्षितिज
ताप बढ्दै थियो
नागां देखिएपनि
रातो लालीगुराँस फक्रेका डाँडा थिए
रातो पहाडको फेदमा
चरिरहेका सेता घोडा जस्तै
कमेरो पोतिएका घरहरू थिए
हेर्दा हेर्दै मन बदलियो
हातले आँखा छोप्यो
के देख्यो
के छोपियो ऊ नै जानोस्
जब हात उघ्रे आँखाबाट
परेला उघ्रिएका आँखामा कालो
चस्मा लगायो
अनुहारको रगं बद्लियो
रगंसँगै समय बद्लियो
इमान बद्लियो
हिडाइ बद्लियो
भेषभुषा र भाषा बद्लियो
ऊ
ऊ जस्तो थियो त्यस्तो देखिएन
स्वयंले उज्यालो छेकेर
खुला आँखाले देखेको संसार
कालो देख्यो
फेरि कहिल्यै आँखा चस्माबिहीन भएनन्
घर अगाडि आँगनमा
चराहरू भुतली खेल्दैहुन्थे
श्यालहरू दुलो खोज्दैहुन्थे
सालकहरू सुरूगं खन्दैहुन्थे
माटोमा निहुरिएर हेरेन
सायद चश्माका दृष्टीमा
बग्दै गरेको माटो थुनेर
पहाड उभिएका थिए
आँगनमा खोतलिएका सुरूगंमाथी उभिएर
घर बलियो देखिरहेको थियो ।
वि.सं.२०७७ कात्तिक २९ शनिवार ०८:१४ मा प्रकाशित






























