कतारमा रहेका साहित्यकार तिर्थ संगम राईले एनआरएनएद्धारा प्रदान गरिएको ‘कोभिड १९ हिरो अर्वाड’ अस्वीकार गरेका छन् ।
कोरोना कहरका बेला विश्वका विभिन्न देशमा रहेका नेपालीहरुबाट कोरोना रोकथाम, नियन्त्रण र कोरोनाका कारण समस्यामा परेका नेपालीको सहयोगका लागि जुटेका व्यक्तित्वहरुका लागि भन्दै एनआरएनएले प्रदान गरेको कोभिड-१९ हिरो अर्वाड राईले अस्वीकार गरेका हुन् ।
‘सम्मान असल कार्यको बिम्ब हो । तर यसलाई प्रचारवाजी वा सस्तो लोकप्रियता अझै बिना संघर्ष पाएको कुनै पनि अलंकार मेरो लागि स्विकार्य हुने छैन ।’ राईले आफू सम्मानको विपक्षमा नभएको र कहिले नहुने बताउँदै भनेका छन् ‘जस्ले सहि मूल्यांकन र योगदान गरेका छन् सबैलाई बधाई तथा शुभकामना । मैले यो सम्मानको खातिर केही गरेको छैन तसर्थ स-सम्मान फिर्ता गर्न चाहान्छु ।’
सम्मान फिर्ता गर्नुको कारणबारे उनले लेखेका छन्
सन्दर्भ – COVID 19 HERO AWARD मेरो आफ्नो धारणा ।
’सम्मान’ आफैमा गहकिलो अलंकार हो । तर सम्मानलाई सस्तो र लोकप्रिय बनाउने अधिकार कुनै राज्य, समाज, संघ संगठन या ब्यक्तिलाई छैन । सम्मान दिदा र लिदा कमसेकम केही आधारहरु तयार गरौं ।
१- सम्मान दिदा शब्द चयन र नामाकरणमा ध्यान दिऔं ।
२- कस्को योगदान, समर्पण र निरन्तरता कति छ उचित मुल्याकंन गरौं ।
३- एक दिन उद्दार गर्ने र निरन्तर उद्दार गरिरहनेलाई एउटा तुलोमा नजोखौं ।
४- मानविय कार्य वा परोपकारी कार्यको लागि सकेसम्म सम्मान बाड्दै नहिडौं । यो मानविय कर्तब्य हो ।
५- सम्मान लिने लहरमा उभिँदा आफुलाई गर्वको महसुस होस् नकि अरुको सामु होचोको आभास होस् ।
६- सम्मान दिनु भन्दा पहिला सम्मानित ब्यक्तिहरुलाई जानकारी गराउ । यस्ले बिबादको सृजना उत्पन्न हुन्न ।
७ -सम्मान लिनु नलिनु सम्मानित ब्यक्तिको निजि अधिकार हो ।
८- सम्मान दिदा समाबेसी, आरक्षण र नातागोता आदिलाई भुलौं ।
९- सबै सम्मानहरु दिनुको पछाडी धेरै कारकहरु हुन्छन् । त्यस्लाई स्पष्ट पारौं ।
१० -यदि गलत ब्यक्तिलाई सम्मान गरियो अर्थात भुलबस सम्मानको गलत परिभाषा हुन गयो भने बिना हिच्किचाहट क्षमा मागौं । भुललाई सुधारौं । किन भने लिने भन्दा दिने महान हो । हिपहिप हुर्केको तालमा गलतलाई सहि हो भन्ने तर्क नगरौं ।
वि.सं.२०७७ मंसिर ४ बिहीवार ०९:११ मा प्रकाशित






























