१० मंसिर, काठमाडौं । बैदेशिक रोजगार विभागले ललितपुरमा रहेको मुनलाइट म्यानपावरको कारोबार रोक्का गरेको छ ।
ललितपुर महानगरपालिकाको वडा नं द ३ स्थित हरिहर भवन ललितपुरमा रहेको उक्त म्यानपावरले विभागको स्वीकृति विना युरोप लगायत अन्य मुलुक पठाउने भनि विभिन्न व्यक्तिहरुबाट पैसा लिएको जानकारी पश्चात अनुगमन गरी कारोबार रोक्का गरेको विभागले जनाएको छ ।
उक्त म्यानपावरको कार्यालयमा विभागको टोलीले कात्तिक ४ मा गरेको आकस्मिक अनुगमनका क्रममा कार्यालय बन्द रहेको र संचालकलाई पटक–पटक सम्पर्क गर्दा पनि विभागमा उपस्थित नभएकोले कार्यालयको दुईवटा कोठामा सिलबन्दी समेत गरिएको बताइएको छ ।
‘उक्त प्रा.लिलाई बैदेशिक रोजगारीमा जान भनि रकम बुझाएका व्यक्तिहरुले आजको मितिले १५ दिनभित्र विभाग वा नजिकको श्रम तथा रोजगार कार्यालय वा जिल्ला प्रशासन कार्यालयमा प्रमाणसहित उजुरी गर्न यो सूचनना प्रकाशित गरिएको छ’ विभागद्धारा मंगलबार जारी सूचनामा भनिएको छ, ‘साथै उल्लेखित मेनपावरको सम्पूर्ण कारोबार विभागबाट रोक्का राखिएकोले अव उप्रान्त अर्को सूचना प्रकाशित नहुन्जेल सम्मको लागि उक्त संस्थालाई बैदेशिक रोजगारमा जानका लागि कुनै रकम वा राहदानी नबुझाउन समेत सूचित गरिन्छ ।’

वि.सं.२०७७ मंसिर १० बुधवार १२:५९ मा प्रकाशित






























