पुरानो मक्किएको राजनैतिक वैचारिक सामाजिक आर्थिक र सांस्कृतिक जडतालाई ध्वंस पारी नयाँ मूल्य मान्यतासहितको नयाँ नेपाल निर्माण गर्ने जनवर्गीय मुक्ति आन्दोलनमा समाहित भएका महान् मान्छेहरूलाई कायरहरूले कब्जामा लिएर हत्या गरी मानव सभ्यता विरुद्ध नै धावा बोले । हाम्रो आँखाको नानी जनताको प्यारो छोरा कृष्ण गौतमलाई खुनी गिद्धहरूले झम्टे, च्यातचुुत पारे र सधैँका लागि हामी बिचबाट चुँडाले ।
खोज्दै, खोतल्दै र सोंचदै जाँदा लेखनीले स्मृतिका डोबहरू पहिल्याउने क्रममा ३६ वर्ष पहिलेको सामिप्यताका आरम्भकालीन दिनहरू उत्खनन गर्न पुग्यो । कक्षा ५ मा अध्ययनरत हुँदा कक्षा ७ मा अध्ययनरत दाजु कृष्ण गौतमले मलाई हाजिरीजवाफ प्रतियोगीतामा समावेश हुने अवसर दिनुभएको थियो । सामान्य ज्ञानको भण्डार दाजु कृष्णसँग कार्यक्रममा भाग लिन पाउनु सुखद् अवसर थियो । कार्यक्रमपश्चात तिम्रो एउटा प्रश्नको गलत उत्तरले दोस्रो भयौँ, समीक्षामा दाजुले भन्नुभयो । पहिलो सहकार्य श्री जनसेवा निमाविबाट सुरु भएको क्रम दाजु कृष्ण पढ्नका लागि श्री निर्मल जनसेवा गए सँगै पातलो भयो । २०४१ सालमा जनसेवा निमाविलाई संस्कृत माविमा परिणत गरेपछि मावि तहको अध्ययनका लागि हामी जनसेवामै रोकियौँ ।
२०४१ सालमा एसएलसी उत्तीर्ण गरेपछि दाजु कृष्ण गौतम उच्च शिक्षा अध्ययनका लागि बुटवल बहुमुखी क्याम्पस जानुभयो । दक्षिण पर्वतको राजनैतिक चेतनाको बिजारोपण भएको गौतम परिवारमा माहिलो दाजु उदयराज गौतमको उच्च राजनैतिक चेष्टा, चेतना, सुझबुझ र वर्गदृष्टिकोण उच्चकोटिको बनिसकेको थियो । पञ्चायति सत्ताको विरुद्ध आवाज बुलन्द पार्न सक्ने साहसिक, निर्भीक युवाहरू हुनुहुन्थ्यो दाजुभाइ उदयराज गौतम र कृष्ण गौतम । अध्ययनको क्रममै २०४३ सालमा हामी जनसेवा संंस्कृत माविमा कक्षा १० मा अध्ययनरत विद्यार्थीहरूलाई अनेरास्ववियु(छैटौँ) मा संगठित गर्नुभएको थियो । राजनीति र संगठनको कखरा नबुझेका हामी विद्यार्थीहरू विद्यालय प्रशासनको सोधखोज पछि थरथरी भयौँ र संगठन बामे नसर्दै हामी धरासायी भयौँ ।
२०४३ सालमा एस.एल.सी पश्चात म पृथ्वीनारायण क्याम्पस पोखरा भर्ना भएपछि सम्बन्धित क्याम्पसमा रहेको बोलवाला संगठनको छाप प¥यो । आरम्भकालीन दिनमै सामान्य रुपमा रुपान्तरण र परिवर्तनको पक्षमा टुसा रोपिदिनुभएको थियो । दाजुहरूले त्यही मस्तिष्कले काम गरिरहेको थियो । कृष्ण गौतमको अध्ययन र लगनशीलताले गाउँमा राम्रो प्रभाव छोडेको थियो । अध्ययनप्रति चासो राख्ने अभिभावकहरू
‘गोतामे साइलाले बुटवल क्याम्पसमा छात्रवृत्ति पायो रे’ भन्नुहुन्थ्यो । यो भनाइले दाजुको अध्ययनको अनुसरण गर्न उत्प्रेरित गरेको थियो । अग्रज दाजुका अनुकरणीय कार्यहरूले हामीलाई आकर्षित गरिरहेको थियो । राजनैतिक रुपमा एकै ठाउँमा बसेर काम गर्नका लागि अध्ययन र पेसाको कारण सम्भव भइरहेको थिएन । अग्रज राजनैतिक व्यक्तित्व सादा जीवनशैली सृजनात्मकताले म निकै प्रभावित बन्न पुगेको थिएँ । उहाँभित्र सन्निहित शैक्षिक दिशाबोध, युगचेतना र सामाजिक उत्तरदायित्व वहनको क्षमता अनुकरणीय थियो । २०४४ साल असोजबाट शिक्षण पेसामा संलग्न हुनुभएका दाजु कृष्ण गौतमसँग समीकरणका हिसाबले अन्योन्याश्रित हुँदै काम गर्ने वातावरण मिलिरहेको थिएन, त्यसका पछाडि विभाजित वाम आन्दोलन त्यसका छिर्का र झिल्काहरू थिए । राजनैतिक अवस्था सम्भावना र गन्तव्यका बारेमा हामी दुई बिच आ–आफ्ना विचारका पृष्ठपोषण र सबलीकरण हुने गर्दथ्यो । २०४६ सालमा विना योजनाको बहुदल भित्रियो । संविधान बन्यो । चुनाव भयो । जनताका अपेक्षा जस्ताका त्यस्तै रहे । पार्टीहरू गुट उपगुटमा बाँडिदै गए । अपेक्षा र आंकाक्षामाथि तुषारापात भयो । दोस्रो स्थानीय चुनाव २०५४ को अभ्यासले ठूलो संख्यामा जनतालाई बहुदलप्रति वितृष्णा जगाउने काम ग¥यो ।
२०५२ साल फागुनबाट देशमा आमूल परिवर्तनका लागि तत्कालीन ने.क.पा.माओवादीले सशस्त्र विद्रोहको शंखघोष ग¥यो । परिवर्तनकारहीरू विद्रोहको चेत बोकेका क्रान्तिकारीहरु आमूल परिवर्तनको महासमरमा लामबद्ध हुने क्रम बढ्यो । युवा चेतनाले परिवर्तनको भेललाई अंगिकार गर्नु अनिवार्य थियो । यसैक्रममा २०५६ सालमा दाजुहरूको राजनैतिक पृष्ठपोषण र लगानी रहेको आस्थामा समाहित हुँदै आर्दश शिष्यको रुपमा सँगसँगै अगाडि बढ्ने निर्णय भयो । यसक्रममा आन्तरिक छलफलपश्चात म नारायण तिवारी र कृष्ण गौतम दाइ रहेको एउटा कमिटी बन्यो र राजनैतिक रुपमा दाइसँग जोडिएँ । त्यसपछिका दिनहरुमा काठमाडौँँ केन्द्रित राजनैतिक क्रियाकलाप र योजनाहरुमा सँगसँगै भए । गल्कोपाखा र सामाखुसी रहँदा माइलो दाजु उदयराज गौतम, देवी भाउजू र कृष्ण दाइसँगै राजनैतिक, समसामायिक एवम् व्यवहारिक विषयहरुमा घनिभूत छलफल हुन्थ्यो । तर्कपूर्ण विचारका धनी कृष्ण गौतम दाजुको अदितीय गुण सहनशीलता थियो ।
निष्ठावान शिक्षक, समर्पित राजनैतिक व्यक्तित्व, विद्यार्थीहरूका लोकप्रिय हुनुहुन्थ्यो, कृष्ण गौतम । १०–४ बजे विद्यार्थीबिच रहने कृष्ण गौतम साँझ परेपछि सानो टर्चलाईटको भरमा राजनीतिक चेतनाको उज्यालो टोल टोलमा, घरघरमा र उर्जाशील विद्यार्थी मस्तिष्कमा बिजारोपण गर्न अहोरात्र खट्नुहुन्थ्यो । परिणामस्वरुप उहाँँबाट प्रशिक्षित विद्यार्थी राजकाजी गुरुङ, राजनैतिक रुपमा उच्च तहको नेतृत्वमा पुग्न सफल हुनुभएको छ भने अन्य थुप्रै बौद्धिक व्यक्तित्वहरू उत्पादन गर्न उहाँको श्रम र पसिनाले ठूलो योगदान पु¥याएको छ ।
शिक्षणकै क्रममा जनसेवा संस्कृत मावि.बाट २०५२ साल फागुन १६ गते उहाँँलाई श्री जनता मावि. भोर्लेमा सरुवा गरियो । शिक्षण पेसाका अतिरिक्त राजनीतिक गतिविधिमा आन्तरिक रुपमा निरन्तर लाग्दै पेसागत विकास र पेसागत हकहितको लागि समेत शिक्षकका विभिन्न संगठनमा काम गर्नुभयो । भूमिगतरुपमा अखिल नेपाल राष्ट्रिय शिक्षक संगठन र खुल्ला रुपमा नेपाल राष्ट्रिय शिक्षक संगठनमा रहेर पदीय जिम्मेवारी पुरा गर्नुभयो । करिब २ वर्ष जनता मावि. भोर्लेमा शिक्षण गरेपश्चात पुनः २०५४ पुसमा जनसेवा सं.मावि. पैयँुँ हटिया आउनुभयो तर त्यही महिना एकाएक विद्यालयलाई औपचारिक जानकारी गराई उच्च शिक्षा अध्ययनका लागि काठमाडौँँ प्रस्थान गर्नुभयो । त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा स्नाकोत्तरतह अंग्रेजी विषयमा भर्ना भई अध्ययन सुरु गर्नुभएका कृष्ण गौतमले राजनैतिक रुपमा जनताको विश्वविद्यालयमा नजिकबाट रहेर दुःख सुखमा साथ दिने कार्य काठमाडौँँमा पनि निरन्तर गरिरहनुभयो ।
माइलो दाजु उदयराज गौतमलार्ई सेनाले गिरफ्तार गरी बेपत्ता पार्यो काठमाडाँैमा । कृष्ण दाजुको खोजी गरिरहेको त्रासपूर्ण वातावरणमा गिरफ्तार दाजु उदयराजको सोधिखोजीको लागि प्रताडित मन बोकेर भाउजूसँग काठमाडौँँको कुनाकुना हिँडेको स्मृति ताजै छ । ०५६/०५७ तिर होला बोडिङ्ग पढाएर मात्र हँुदैन क्याम्पस पढ भन्दै मलार्ई दाजुले ः।भ्म। मा कीर्तिपुरमा भर्ना गरी आफूले तयार हस्तलिखित नोटहरु दिनुभएको थियो । उता मा.वि.अंग्रेजीमा स्थायी शिक्षकको लागि दिएको परीक्षामा लिखितमा मेरो र भिम रेग्मीको पनि नाम निस्क्यो । हामी तीन जना अन्तरवार्ताका लागि सँगै पोखरा गयौँ । रात्रीबसमा जाँदा “भए पनि ठिकै, नभए नि ठिकै, केलार्ई टाउको दुखाउनु र दुई दिन जिन्दगीमा” भन्दै गीत गाएको भर्खरै जस्तो लाग्छ । अन्तरवार्ताका लागि म एउटा कोठामा म पछि दाजु कृष्णलार्ई त्यही कोठामा अन्तर्वार्ताका लागि बोलाइयो, उहाँलार्ई राजनीतिक कुरा सोधेर तत्कालीन सत्ताले नियतबस अनुत्र्तीण बनायो । अन्तरर्वार्ताका क्रममा ढुक्क देश जनता र मुक्तिका गह्रौ तर्कहरुले अन्तर्वार्ताकारहरुलार्ई समेत परिवर्तनका खातिर लाग्न आएहाँन गर्दै अन्तरवार्ता कक्षबाट हाँसीहाँसी बाहिरिनुभयो । स्वाभिमानका पर्यायवाची दाजु कृष्णसँग जागिरको लोभको कुनै आशक्ति थिएन । उहाँलार्ई राजनैतिक कारणले मा.वि. स्थायी हुनबाट रोके, देशद्रोहीको बिल्ला भिराएर ।
२०५४ सालमा स्थापित वालिङ हुवास मोटरबाटो तथा विकास सरोकार केन्द्रले दक्षिण पर्वतलाई विकासको मूल प्रवाहमा जोड्नका लागि गरेका जुनकुनै सार्थक प्रयासहरूमा उहाँको उल्लेख्य सहभागीता थियो । अप्रत्यक्षरुपमा केन्द्रीय भूमिकामा रहेर केन्द्रको भावी रणनीति र दिशा निर्देश गर्ने कार्यमा उहाँले ऐतिहासिक योगदान पु¥याउनुभएको थियो । २०५७ सालमा सरोकार केन्द्रका तर्फबाट आयोजना गरिएको ‘भ्रष्टाचार हैन पारदर्शिता, सामूहिक श्रम आजको आवश्यकता’ भन्ने मूल मन्त्रका साथ श्रमशिविरमा कृष्ण गौतमको व्यवस्थापकीय वैचारिक तथा राजनैतिक उपस्थिति रह्यो । सत्ता सशंंकित थियो किनेभने कृष्ण गौतम जस्ता होनाहार योद्धाहरूको प्रत्यक्ष संलग्नता थियो, यसमा । नीलकण्ठ तिवारीले संयोजकको भूमिका निर्वाह गर्नुभएको त्यस व्यापक कार्यक्रमले दक्षिण पर्वतका सम्पूर्ण मानिसहरूलाई एकपटक जुरुक्कै उचालेको थियो ।
सत्ताले कृष्ण गौतमलाई पक्राउ गर्नका लागि वारेन्ट जारी गरेको थियो तथापि दुश्मनको कुनै प्रवाह नगरिकन जनताको बिचमा विकास निर्माणका योजनाहरू सहित स–शरीर निर्धक्क जाने साहसिक निर्णय लिनुभएको थियो, उहाँले । सुदूरदक्षिण सेतीवेणीबाट सुरु नयाँ संस्कृतिको निर्माण, आमूल परिवर्तन र विकासको पक्षमा भ्रष्टचारी संस्कृतिको विरुद्धमा आयोजित यो श्रमशिविरमा कृष्ण गौतमको सशक्त वैचारिक उपस्थिति थियो । वहाँकी मावि.मा भएको पहिलो कार्यक्रमबाटै प्रशासनले घेराबन्दी, थुनछेक, हतोत्साहित तुल्याउने र निगरानीको क्रम बढाएको थियो । अनेकौँ प्रपंचबिच पनि आस्थाको धरोहर जनताको प्रियपात्र, स्पष्टवक्ता कृष्ण गौतमलाई तत्कालीन सत्ताले जनताको काखबाट खोस्ने साहस गर्न सकेन । अत्यन्तै चलाखीपूर्वक सरोकार केन्द्रले हजारौं जनताको उपस्थितिमा विकास र आमूल परिवर्तनका लागि तयार रहन जनताहरूलाई आह्रवान ग¥यो । जनविद्रोहलाई अवमूल्यन गर्ने, जनचेतनालाई निषेध गर्न खोज्ने र स्वतन्त्रतालाई दबाउन खोज्ने तत्कालीन सत्ताका विरुद्ध, जनताको उपस्थितिमा कृष्ण गौतमले वैचारिक खुराक प्रदान गर्नुभएको थियो । अनेकौँ प्रतिकुलता, घरेलु जञ्जालहरूलाई च्यातचुत पारेर आमूल परिवर्तनको पक्षमा दक्षिण पर्वतले एक होनाहार बौद्धिक नेता पाएको थियो । बन्दुकले विचारलार्र्ई होइन विचारले बन्दुक चल्नुपर्दछ भन्ने दृढ विश्वासका साथ सर्वहारा वर्गीय जीवनशैलीको अनुयायी उच्च मानवीय भावनाबाट ओतप्रोत कृष्ण गौतमको सेवाभाव समर्पण परिवार छरछिमेकलाई पर्ने अप्ठारोमा उहाँको उपस्थिति र सहयोगले पृष्टि गर्दथ्यो ।
२०५७ सालमा काठमाडौँँ बसाइलाई छोट्याएर आफ्नै भूगोलमा फर्केर शिक्षण कार्यको निरन्तरताका साथै राजनैतिक जिम्मेवारीलाई समेत उहाँले समाल्नुभयो । द्वन्द्वको भीषण चपेटामा परेका गाउँबस्तीहरूमा कृष्ण गौतम जस्तो शालीन, इमानदार र उच्च बौद्धिक नेतृत्व पाउनु वैचारिक रुपमा विपरीत कित्तामा उभिएका मानिसहरूका लागि समेत सुखद् अवसर थियो । किनभने सामान्य चिनजानकै भरमा उहाँको नाम भजेर आफूलाई सुरक्षित पार्ने प्रयास भएका थुप्रै अभ्यासहरू यदाकदा गुन्जिरहन्थे ।
घटना २०६१ साल भाद्रको हो । उहाँकी उच्च मावि.मा. कक्षा १० का विद्यार्थीहरूलाई अध्यापन गराइरहेको बेला पछाडि झोला बोकेको, झुस्स दाह्री पालेको, गोल्डस्टार जुत्ता, र सामान्य पहिरनमा रहेको एउटा आकृति ‘Morning Student’ भन्दै कक्षा प्रवेश ग¥यो । म झसँग भएँ । म अवाक भएँ, किनभने मेरो अगाडि एउटा जनमुक्ति योद्धा परिवर्तनको संवाहक महासमरको यात्री उभिएको थियो । विद्यार्थीहरूलाई परिवर्तनका खातिर लाग्न । राम्रो सँग पढेर असल मानिस बन्न शुभकामना दिँदै दाजु बाहिरिनुभयो । असोज महिनामा उहाँँसँग पुनः भेट्ने अवसर मिल्यो । राजनैतिक भलाकुसारी भयो । सँगसँगै खाना खाने अन्तिम अवसर मिल्यो ।
२०६१ साल मंसिर १७ गते पार्टी कामको सिलसिलामा आफ्नो जिम्मेवारीको भूगोलमा अन्य सहयोद्धा साथीहरूसँग स्याङ्जा जिल्ला सिर्सीकोटमा छलफलमा रहँदै गर्दा तत्कालीन सत्ताका आततायी, क्रुर र निर्दयी जल्लादहरूले कब्जामा लिएर आस्थाका धरोहर क्रान्तिकारी योद्धाहरू कृष्ण गौतम, कुविजा पराजुली, मोहन गाहा मगर, खड्क कुवर र विजय सुवेदीलाई हत्या गरेको दुखद् खबर सन्सनीपूर्ण तरिकाले सर्वत्र फैलियो ।
मुक्तियुद्धको महान् यात्रामा लामबद्ध राता मान्छेहरूले विचारको अटल आस्था र महानतासँगै आफ्नो अमूल्य जीवनलाई हाँसीहाँसी बहादुरीपूर्वक देश र जनताको खातिर समर्पित गर्न पुग्नुभयो । पुरानो मक्किएको राजनैतिक वैचारिक सामाजिक आर्थिक र सांस्कृतिक जडतालाई ध्वंस पारी नयाँ मूल्य मान्यतासहितको नयाँ नेपाल निर्माण गर्ने जनवर्गीय मुक्ति आन्दोलनमा समाहित भएका महान् मान्छेहरूलाई कायरहरूले कब्जामा लिएर हत्या गरी मानव सभ्यता विरुद्ध नै धावा बोले । हाम्रो आँखाको नानी जनताको प्यारो छोरा कृष्ण गौतमलाई खुनी गिद्धहरूले झम्टे, च्यातचुुत पारे र सधैँका लागि हामी बिचबाट चुँडाले ।
महान् युद्धको आँधीबेहरीमा सगरमाथा भन्दा अग्लो बलिदानको कोटा चुक्ता गरेका कृष्ण गौतमको शवयात्रामा ओर्लिएको जनसागर रसाएका आँखाले जनताको मुक्तिखातिर जनताको साथ, जनताकै आवाज लिएर, जनताकै घर आँगनीमा आपूmलाई एकाकार गरेको जनतबाटै सिकेको र जनतालाई नै सिकाएको सिद्धान्तलाई पुष्टि गर्दछ । मुक्तियुद्धले स्वतन्त्रता र स्वाधनीताका लागि लड्न सिकायो, हाँस्न सिकायो र हाँस्दाहाँस्दै रुन र रुदारुदै हाँस्न सिकायो । मुक्ति या मृत्युको पाठ सिकायो ।
बलिदानी त्यागका दर्जनौ नमुनाहरू परिवर्तनका खातिर थिए । नाना च्यातिएका, वास लुटिएका, गास खोसिएका, आशा निमोठिएका र स्वतन्त्रता कैद भएका जनताको जनाधिकार स्थापनाको लागि थियो, सशस्त्र विद्रोह । दाजु कृष्ण गौतम लगायतका नेपाल आमाका सर्वोत्तम छोराछोरीहरुले कायरहरूको अगाडि शिर ननिहुराइकन देश र जनताका लागि सहादतको बाटो रोज्नुभयो र बलिदानीका लागि हाँसीहाँसी तयार हुनुभयो ।
आज जे जति उपलब्धिहरु भएका छन् ती सम्पूर्ण दाजु कृष्ण गौतम लगायत हजारौँ योद्धाहरुको उच्च बलिदानी समर्पणबाट सम्भव भएको हो । यसको उदेश्य सम्बृद्ध स्वतन्त्र र आम शोषित पीडित जनताहरु को मुहार हँसिलो भएको नेपाल थियो । तर राजनीतिक प्रणालीको परिवर्तन भए पनि मानसिकता परिवर्तन नभएको, पुरानै प्रवृत्ति मौलाउँदै गएको, निष्ठा, त्याग र समर्पण शुन्य प्राय बन्दै गएको प्रतित हुँदैछ । हालको सङ्घीय व्यवस्था र जनताले महसुस गरेको आंशिक प्राप्तिमा टेकेर अघि हिँड्न सकिने प्रशस्त सम्भावनालाई भने नकार्न सकिँदैन ।
गौरवशाली मृत्युवरण गर्नुहुने श्रद्धेय दाजु कृष्ण गौतम लगायतका वीर योद्धाहरूले जित्नुभएको छ तर उहाँका सपनाहरू ? उहाँहरूको ओजस्वी सहादतको सार्थकता ? संवेदनशील छ वर्तमान ? टुट्यौँ हामी, टुक्रियौँ हामी, छताछुल्ल भयौँ हामी । आलोचनाको पहाड उभिएको छ, सपनाको महल चिराचिरा परेको छ, गन्तव्य मलिन छ । फेरि पनि आशाको पहाड सपनाको सागर बाँकी नै छ । त्यसैले पुनः उहाँँका आस्थाका सर्वोच्च शिखरले पूर्णता प्राप्त गर्नुछ । विचारहरूले गन्तव्य चुम्नेछन् आशा र अपेक्षा डोरी चुडीसकेको छैन । प्रण गरौं, दाजुको विचारमा लामबद्ध हुन सकौँ, कृष्ण गौतमको उच्च आर्दश र सहादतको सम्मानमा अविचलित र अनवरत रुपमा लागिरहन सकौं ।
हार्दिक श्रद्धासुमन
वि.सं.२०७७ मंसिर १७ बुधवार १४:३७ मा प्रकाशित






























