गुरु ब्रह्मा, गुरु, विष्णुः गुरुदेवो महेश्वरः
गुरु साक्षात परम्ब्रह्मा तस्मै श्री गुरुवे नम !!
गुरुप्रति आदर सत्कार गरिएको सँस्कृतको यो श्लोकले प्रत्येक शिक्षकप्रति गर्व पनि हुने गर्दछ होला । वास्तवमै एक शिक्षक असल समाज निर्माणका लागि अति महत्वपूर्ण जग मानिएको छ, किनकि एक शिक्षकद्वारा मार्गदर्शन दिइएका विद्यार्थीहरूले विभिन्न क्षेत्रमा सफलताको चुचुरोमा पुगेका हुन्छन् । विभिन्न पेसामा संलग्न हुन्छन् । कोही डाक्टर, कोही पाइलट, कोही वैज्ञानिक, कोही इन्जिनियर तथा कोही कुशल व्यवसायी बन्न सफल हुन्छन् । यसको प्रमुख श्रेय शिक्षकलाई नै मान्नु पर्दछ । शिक्षक नै असल समाजको मार्गदर्शक हो । भनाइ र सुनाइमा अति सजिलो लाग्ने ‘शिक्षक’ शब्दको मर्म बुझ्दै जाँदा पटक्कै सजिलो छैन । शिक्षण कार्य सबैभन्दा कठिन काम हो, किनकि उनीहरूलाई देशका भविष्यका कर्णधारहरूलाई सही शिक्षा दिने जिम्मेवारी दिइएको हुन्छ ।
एकै बाबुआमाबाट जन्मिएका बच्चाहरू पनि भिन्न स्वभाव र भिन्न क्षमता लिएर जन्मेका हुन्छन् । स्कुलमा जब विभिन्न संस्कारमा हुर्केका बच्चाहरू पढ्न आउँदछन् उनीहरू सबैको भिन्नभिन्न बौद्धिकस्तर र भिन्न भिन्न इच्छाहरू हुन्छन् । सबै बच्चाहरूको आफ्नै खाले क्षमता हुने गर्दछ । उनीहरूको क्षमता पहिचान गरि उनको स्तर अनुसारको शिक्षा दिनु अझ मुस्किलको काम हो । कसैको गणितमा रुचि होला कसैको अंग्रेजीमा रुचि होला, कसैको सङ्गीतमा त कसैको खेलकुदमा । यी सबैखाले प्रतिभालाई पहिचान गरी उनीहरूको क्षमतानुसारको शिक्षामा निपुर्ण बनाउनु नै एक असल शिक्षकको कर्म हो ।
पर्वत जिल्लाको सुदूरदक्षिणी भेग समग्र पैयुँक्षेत्र जिल्लाको उत्तरी भेगको तुलनामा शिक्षाको ज्योति नपुगेको हो कि भन्नेकुरा अहिले बल्ल हामी यो पुस्ताले महसुस गरेका छौं । पैयुँ गाउँपालिका ४ पैयुँ हटीयामा अवस्थित श्री जनसेवा सँस्कृत माध्यामिक विद्यालय विसं २०१४ मा स्थापना भए पनि ७ कक्षादेखि माथिको शिक्षाको लागि बाहिर जानुपर्ने अवस्था थियो । जेहन्दार तथा इच्छुक विद्यार्थीहरू पनि आफ्नो घरको परिस्थितिले गर्दा उच्च शिक्षाको लागि बाहिर जान सक्ने स्थितिबाट बन्चित हुन परेको कुरा अग्रज दाजुहरूबाट सुन्न पाइन्छ । भर्खरै शैक्षिक क्षेत्रमा बामे सर्दै गरेको पैयुँक्षेत्रको जनसेवा सँस्कृत मा.वि मा अध्यापन गराउने प्रायः शिक्षकहरू पैयुँक्षेत्र भन्दा बाहिरबाट आउनुभएको थियो । २०४३ सालको कुरा हो म सोही विद्यालयमा कक्षा ७ मा अध्यन गर्दै थिएँ । गणित विषय पढाउने शिक्षक सच्चिदानन्द सिंह, उहाँँको महेन्द्र ज्योति माध्यमिक विद्यालय (आहाले) लुँखु सरुवा भएपछि त्यस रिक्तस्थानमा कृष्ण गौतम सरले स्थान लिनुभयो ।
कृष्ण गौतम सरको उपस्थितिले सबै विद्यार्थीहरूलाई थप उत्साहित बनाएको थियो । उहाँँ र हाम्रो घरको दुरी झन्डै ३०० मिटरको फरकमा पर्दछ । हामीले एक अर्कालाई धेरै नजिकबाट चिनेजानेका थियौँ । कुशल पण्डित परिवारमा जन्मनु भएका कृष्ण गौतम परिवारको तेस्रो सन्तान भएकोले हामीले उहाँँलाई साँइला दाइको साइनोले बोलाउने गर्दथ्यौँ । मध्यमवर्गीय परिवारमा जन्मिनुभएका कृष्ण गौतम अति मिलनशार, हँसिलो मुहार, ठूलोलाई आदर सत्कार र सानालाई असाध्यै माया गर्ने स्वाभावको हुनुहुन्थ्यो । बुवा लालप्रसाद गौतमका परिवारमा जन्मेका सबै सन्तानहरू तीक्ष्ण दिमाग भएकोले सबैजना पढाइमा जेहन्दार तथा मेहनती हुनुहुन्थ्यो । सबैजना राम्रो श्रेणीमा उत्र्तीण हुनुहुन्थ्यो । ठूलो परिवारमा आय आर्जनको राम्रो स्रोत नहुँदाको कष्ट कस्तो हुन्छ, त्यो भोग्नेलाई मात्र थाहा हुन्छ । ठूलो दाजु डिलप्रसाद गौतमले भारतीय सेनामा, माइला दाजु उदयराज गौतम र साहिँलो दाजु कृष्णप्रसाद गौतमले स्कुलमा पढाउन लागेपछि परिवारमा अरु सदस्यहरूलाई सहज भएको कुरा बुवा लालप्रसाद गौतमले भन्नुहुन्थ्यो । सबै भाइहरूको राम्रो भाइमिलाप थियो । सबैको विचार मिल्ने भएर नै होला सबै एकै ठाउँ बसेर छलफल गरेको देखिन्थ्यो । साँच्चिकै भन्नुपर्दा त्यो परिवारको हाँसो र खुसीले सिङ्गो गाउँलाई नै खुसी दिएको थियो । भाइहरू कसरी मिलेर बस्नु पर्दछ एकताको ज्वलन्त उदाहरण थियो, त्यो घर ।
कृष्ण गौतम (साँइला दाइ)गणित विषयमा अब्बल दर्जाको शिक्षकमा मानिनु हुन्थ्यो । भिन्नभिन्न क्षमता भएका विद्यार्थीहरूलाई सजिलैसँग बुझाउने कला थियो । म कक्षा ९ को दोस्रो विद्यार्थी थिएँ । मलाई गणितमा रुचि भएर पनि ज्यामिति विषय अति दुख लाग्थ्यो । साध्य र बिलोममा अल्मलिन्थेँ । साध्य ३३ को बिलोम मलाई सम्झिन मुस्किल परेपछि त्यो दिन साँझ मलाई घरमै बोलाउनु भयो । म उहाँँको घरमै गएँ । राती अबेरसम्म बसेर मलाई सिकाइरहनु भयो । उहाँँमा असल शिक्षकमा हुनुपर्ने गुणमा कुनै कमि थिएन । ‘ब्दिभचत भ्ष्लकतभष्ल का अनुसार एक असल शिक्षक बाहिर हेर्दा जति साधारण हुन्छ, भित्र त्यतिनै रोचक हुन्छन्’ उहाँँमा यही अदभूत कला थियो । अक्सर उहाँँले पढाउने क्रममा कक्षाका सबै विद्यार्थीलाई भन्ने गर्नु हुन्थ्यो ‘अहिलेदेखि नै मेहनत गर्दै जाउ तब मात्र भोलि आफ्नो उद्देश्य पुरा गर्न सकिन्छ । हामी शिक्षक त माँझी हौँ, विद्यार्थीहरू यात्री हुन् । तिमीहरूलाई हामी नदीमा डुङ्गाबाट तारी रहने छौँ ।’ यी अनमोल शब्दहरू अहिले पनि कानमा गुन्जिरहन्छन् । कृष्ण गौतम अति मिलनसार, मृदुभाषी, लगनशील, सरल स्वाभाव, उच्च वैचारिक अनि व्यवहारिक पनि हुनुहुन्थ्यो । यी शब्दबाट मात्र उहाँँको कार्य कुशलताको बयान गरेर सकिँदैन । आफ्नो गाउँ तथा वरपरका छिमेकी गाउँहरूमा कुनै घटनाहरू घट्दा तुरुन्तै पुगेर सकेको सहयोग गर्नुहुन्थ्यो । हाम्रो साइँला दाइ मात्र नभई समग्र पैयुँ क्षेत्रकै आँखाका नानी, मुटुका ढुकढुकी, असल बौद्धिक व्यक्तित्व हुनुहुन्थ्यो ।
कतिपय परिस्थितिमा जीवनमा अनेक मोडहरू आइदिन्छन् । सोंचाइ अनुसार र भनाइ अनुसार काम गर्न मुस्किल हुने रहेछ, धेरै साथीहरूले उहाँँको मार्ग निर्देशनलाई निरन्तरता दिएर सफलताको चुचुरोमा पुग्नु पनि भएको छ । मलाई खै कुन रहरले जित्यो कि परिस्थितिले बाध्य प¥यो । उहाँँले देखाएको बाटोमा हिँड्ने रहर हुँदाहँुदै पनि भारतीय सेनामा सिपाही हुन पुगँे । सुरुका दिनहरूमा उहाँँसँग पत्राचार हुन्थ्यो । म आफ्ना दुःखका कथाहरू लेखेर पठाउथँे । प्रत्युत्तरमा साइँला दाइले सम्झाएर लेख्नु हुन्थ्यो ‘योद्धा हुनु त्यति सजिलो काम त हुँदै होइन, ध्यानसँग काम गर्नु, अवकाशपश्चात्, गाउँमा समाजसेवा गर्नुपर्छ ।’ उहाँँका सुझावले मनमा थप उर्जा दिन्थ्यो ।
विसं २०५९ मङ्सिरको महिना, गते कति थियो मलाई अहिले सम्झना छैन, साँझपखको कुरा हो, म प्रदेशबाट दुई महिनाको बिदामा घरमा आउँदा वालिङबाट एकजना भरिया दाइको साथ घरमा आउँदै थिएँ । घर पुग्ने बेला सौरीकोटमा संयोगवस उहाँँसँग भेट् भयो । मैले उहाँँलाई हाम्रो घरसम्म सँगै जाने आग्रह गरेपछि घरमा सँगै गयौँ । घरपरिवारसँगको भेट्घाट पछि हामी कुरा गर्न लाग्यौँ । म त्यतिबेला भारतको काश्मिरमा तैनाथ थिएँ । मैले आफ्नो फौजको कुरा गर्दा ध्यानपूर्वक सुन्नुहुन्थ्यो र बीच बीचमा सही थाप्नुहुन्थ्यो । मेरो सबै कुराहरू सुनिसकेपछि उहाँँले कुरा गर्नलाग्नु भयो ‘नेपाली युवाले विदेशी भूमिमा ज्यानको बाजी लगाएर जिन्दगी बिताउन बाध्य भएको कुराहरूमा दुःखी हुँदै नेपाली राजनीतिको विसङ्गतिहरूको बारेमा मलाई बुझाउने कोशिश गर्दै उहाँँले आफ्ना विचारहरू म समक्ष राख्नुभएको थियो । ती अमूल्य सत्य विचारहरू अहिले पनि मेरो मनसपटलमा ताजै छन् । उहाँँसँग भएको कुराकानीको छोटो अंश दर्शाउन चाहन्छु ‘साइँला दाइले भन्नुभयो ‘पहिलेका शासकहरूद्वारा गरिएको सन्धि अनुसार अहिले हाम्रा नेपाली युवाहरू विदेशीभूमिमा रहरले नभएर बाध्यताले रगतको खोला बगाउनु परेको छ । सन्धि भन्नाले समान कुराको सहमति भन्ने अर्थ हुन्छ, सम्झौता जहिले बराबर हिसाबमा गरिन्छ तर हामी नेपाली जनताले इतिहासमा बर्षौसम्म दुख्ने खालका यस्ता अपमानजनक पीडादायी सम्झौता गर्नुप¥यो । जसको असर अहिलेसम्म भोग्नुपरेको छ र अझै कहीलेसम्म भोग्नु पर्ने हो ।’ हुनत नेपालीले अन्तर्राष्ट्रिय समुदायमा इतिहासमा सम्मान गर्नपर्ने र सम्झनलाईक काम पनि गरेका छन्, जसको कारण आज विश्वसामु वीर नेपाली भनेर परिचय पाइएको छ । नालापानी र सिन्धुलीगढीको युद्धमा हराउन र गलाउन नसकेका अंग्रेजी र छिमेकी शासकले कुटनीतिक तरिकाले पाइलै पिच्छे गलाए ! कागजमा झुक्याए । त्यहीकुरा अहिले सुगौली सन्धि बनेर दुख्छ, कहिले कोशी बनेर मुटु भतभती पोल्छ । उहाँँले अगाडि भन्नुभयो ‘नेपाललाई कमजोर पारेर अरुलाई राज गर्न दिने गरि भएको सुगौली सन्धि राष्ट्रघातको प्रमुख जड बनेर नेपाली भूमिको छाती जलेको छ । विभिन्न कालखण्डमा बनेका नेपाली शासकहरूले असमान सन्धि खारेजीको आवाज पनि निकाल्न सकेनन् न त मुलुकलाई समृद्धितिर डो¥याउन सके । झन् भन्दा झन् सत्ताको खेलमा अझै राष्ट्रघाती सम्झौता थपिदै गयो । कहीले महाकाली सम्झौता, कहीले कोशी त कहीले गण्डकी सम्झौता । राष्ट्रलाई खोक्रो पारेर छिमेकीलाई फाइदा पुग्ने गरी गरिएको सम्झौताको कारण आज हामीलाई आफ्नै शासकमाथि औंला उठाउनु पर्ने बाध्य पारिदैँछ । छिमेकी नभई नेपाल र नेपाली बाँच्नै सकिँदैन भनेर गलत प्रचार गरिएको छ । जनतालाई दुःख दिइएको छ । यो धर्ती रुँदा यो मन पनि दुख्दो रहेछ ।
अन्त्यमा, आदरणीय गुरु कृष्ण गौतम (साइँला दाइ) ले भनेको सम्झन्छु ‘अहिले देशको हालत देख्छु, झन बिग्रदो छ स्थिति, उस्तै छ व्यवस्था, अस्तव्यस्त राजनीति, झन बढ्दैछन् अप्रिय घटनाहरू, सामाजिक सन्जाल र मिडियाबाट बाहिर आइरहन्छन् आङै सिरिङ हुने बिभत्स दृश्यहरू । रुन्छ यो मन, रुन्छ मन पैयुँको, रुन्छन् चन्द्र र सूर्य नेपाली धर्तीको ।’
पैयँु गाउँपालिका ४, पर्वत
वि.सं.२०७७ मंसिर १७ बुधवार १५:०१ मा प्रकाशित




























