१.
भो चाहिँदैन मलाई मलमलको चोली
माया गरिदिए मात्र पुग्छ दिल खोली
मलाई छोडेर परदेश न जाऊ न प्यारा –
दिनदशा बिग्रे आज मरिन्छ कि भोलि ।
२.
न जलाऊ मेरो मुटु चिराचिरा भएको छ
तिम्रो चोट सहँदासहँदा जीरा भएको छ
जिन्दगीमा मरूँ कि बाँचू अन्योलमा परे –
साथी भन्ने त्यही एउटा मदिरा भएको छ ।
३.
लोभी पापीहरूको स्थायी घर हुँदैन
इज्जत प्रतिष्ठाको कहिल्यै डर हुँदैन
खान पाउँदासम्म हो अघि पछि गर्ने-
कुनबेला बाटो मोड्छ कुनै भर हुँदैन ।
४.
जूनलाई छोडी तारालाई रोज्दिन
माया गर्ने हुँदाहुँदै अरू खोज्दिन
ममाथि विश्वास गर वा अविश्वास-
जीवनमा कहिल्यै गलत सोच्दिन ।
५.
रातमा उज्यालो दिने आकाशको जून हौं तिमी
सपनामा झस्काउन मात्र आउने कुन हौं तिमी
आफूले कहिल्यै राम्रो काम गरेर देखाउन नपर्ने-
अरुको सुमधुर सम्बन्ध भत्काउने घुन हौं तिमी ।
वि.सं.२०७७ मंसिर २० शनिवार ०९:२१ मा प्रकाशित
























