
बिहानीको झुल्के घाम दिन बोकी आयो,
टप्प टिपी अञ्जुलीमा भर्न मन लायो ।
सिर्जनाको मूल मन्त्र बनूँबनूँ लाग्छ,
म हुँ यौटा सिङ्गो फूल भनूँ भनूँ लाग्छ । १।
आमाको म आशा दीप नयनमा बल्छु,
बाबाको म भरोसा हुँ देश बोकी हिँड्छु ।
नरोए है मेरी आमा दुश्मनका अघि,
न हारे है मेरा बाबा आँगनीमा बसी ।२।
तिमीलाई छोडी कतै कहीँ जाने छैन,
स्वाभिमान बेची तिम्रो केही खाने छैन ।
संस्कार त्यो शीर भरि मुटू भरि माया,
म छु आज जे नै यहाँ हुँ नै तिम्रै छायाँ ।३।
सिमानामा सुरक्षा म गर्दै लडीरहूँ,
सभ्यताको सगरमाथा माथि चढीरहूँ ।
हिउँचुलीमा चन्द्र सूर्य झण्डा गाडूँ मैले,
छिमेकीका कुदृष्टिका पर्दा ढालूँ पैले ।४।
गौरव हुँ यो देशको हुँ म स्वाभिमान,,
उमा सीता भृकुटी र बुद्ध मै हुँ ठान ।
एकताको बीउ छर्ने बगियाको माली,
प्यारो प्यारो देश मेरो हिँड्छु काँध हाली ।५।
तिम्ले पुज्ने सूर्य हुँ म तिम्ले हेर्ने तारा,
तिमी भित्र मुस्काउने मेरो अभिभारा ।
चाहे नेता बनूँ यहाँ चाहे कवि यौटा,
पुकार तिम्रो सुनिदिने म हुँ ज्यूँदो द्यौता ।६।
सवाई छन्द