
तस्करहरू पहिलोपटक
सुटुक्क हाम्रो घरभित्र घुसे
हाम्रै बैठककोठामा बसेर
आफ्ना प्रस्तावमा छलफल गराए
र, स्वअनुकूल निर्णय लेखाएर
अभिलेख पुस्तिकाको तस्करी गरे ।
तस्करहरू पहिलोपटक
लुसुक्क हाम्रो घरभित्र घुसे
हाम्रै भान्साकोठामा बसेर
आफ्ना स्वादअनुकूल परिकार बनाए
र, हामीलाई बेढङ्गी लतमा फसाएर
भण्डार कोठाको तस्करी गरे ।
तस्करहरू पहिलोपटक
खुसुक्क हाम्रो घरभित्र घुसे
हाम्रै पूजाकोठामा बसेर
आफ्नो आस्थाको भजन गाए
र, देखादेखी संस्कारको हेराफेरि गरेर
भगवानको तस्करी गरे ।
तस्करहरू पटकपटक
जबर्जस्ती हाम्रो घरभित्र घुसे
बैठककोठादेखि पूजाकोठासम्म चहारेर
हाकाहाकी आफ्नो प्रभुत्व झण्डा गाडे
र, हाम्रै दरबारको शकुनि बनेर
बारम्बार अस्मिताको तस्करी गरे ।
तस्करहरू पहिलोपटक
खुलेआम हाम्रो घरभित्र घुसे
हाम्रै फूलबारीमा बसेर
पुतलीहरूको प्रतिकृति बने
र, छद्म स्वरूपमा हामीलाई भड्काएर
सहिष्णुताको तस्करी गरे ।
तस्करहरू पटकपटक
जबर्जस्ती हाम्रो घरभित्र घुसे
बैठककोठादेखि पूजाकोठासम्म चहारेर
हाकाहाकी आफ्नो प्रभुत्व झण्डा गाडे
र, हाम्रै दरबारको शकुनि बनेर
बारम्बार अस्मिताको तस्करी गरे ।
तस्करीको उन्माद बढेपछि
कुनै दिन तिनै तस्करहरू
आफ्नै घरको तस्करी गर्न थाल्नेछन्
र, बन्डा गर्नेछन् आफैँभित्र हुर्किएको भ्रुणहरू
हो त्यही दिनदेखि
तस्करहरूको कथित साम्राज्य ढल्नेछ
अनि त्यही जगमा उभिनेछ हाम्रो नयाँ घर ।