प्रवासिनु रहर नभएर बाध्यता हो । लाखौं नेपालीहरु आज मुलुक बाहिर छन् । आफ्ना नागरिक जहाँ रहेपनी, भएपनि उनीहरुको हकहितको पक्षमा कामगर्नु राज्यको कर्तब्य र दायित्व हो, हुनुपर्दछ । राज्यले नीति निर्माण गर्दा प्रवासी नेपालिहरुलाई सम्बोधन गरिनु पर्दछ र उनीहरुको हक हितको पक्षमा पनि नीति निर्माण गरिनु पर्दछ । आप्रवासनलाई कम गर्न राज्यको ध्यानाकर्षण मात्र होइन महत्वपुर्ण भूमिका पनि हुनुपर्दछ ।
प्रायः देशहरुमा आफ्ना प्रवासी नागरीकहरुलाई हेर्ने मन्त्रालय नै बनेका छन, हुन्छन । हाम्रो मुलुकमा अहिले मन्त्रालय नै सम्भाबना नभएपनि कमसेकम ‘प्रवासी नेपाली आयोग’ बनाएर भएपनि काम गर्नुपर्दछ । यसतर्फ राज्यको गम्भीर ध्यानाकर्षण हुनुपर्दछ । आजसम्म राज्यले प्रवासी नेपालीहरुलाई ‘ प्रयोग गर र फाल’ (Use and Throw )को ब्यबहार गर्दै आएको छ । राज्य तथा मुलुकका राजनैतिक दलहरुले प्रवासी नेपालीहरुलाई चाहिंदाको भाँडोको रुपमा प्रयोग गर्ने मात्र होइन,अब उनीहरूको हकहितको पक्षमा कार्यान्वयनतर्फ लाग्नु पर्दछ । उनीहरुले मुलुकको परिबर्तनमा खेलेको, पुर्याएको योगदान, भूमिका र जिम्मेवारीलाई उचित मूल्याँकन हुनुपर्दछ गर्नुपर्दछ । प्रवासी नेपालीहरुको हकहित सम्बन्धित निति निर्माणमा पनि उनीहरुलाई सहभागी बनाइनु पर्दछ ।
भारत प्रवास लगायतका बिभिन्न मुलुकमा छरीएर रहेका प्रवासी नेपालीहरुलाई मातृभुमिमा हुने निर्बाचनमा कार्यरत देशबाटै मतदान गर्न पाउनु पर्ने अधिकारलाई कार्यान्वयन गर्न सर्बोच्च अदालतद्वारा फैसला गरिसक्दा पनि राज्यले बेवास्ता गरेको छ । बर्तमान सरकारले यस बिषयलाई कार्यन्वयन गर्न अबिलम्ब आबस्यक प्रक्रिया अगाडि बढाउनु पर्दछ । समय परिस्थितिको परिबर्तन सँगै प्रवासी नेपाली आन्दोलनलाई पनि फराकीलो बनाउँदै बिस्व प्रवासी आन्दोलन सँग एकाकार, सहकार्य र समन्वय गर्दै अगाडि बढ़नु आजको आबस्यकता हो । यस बिषयलाई सम्पुर्ण प्रवासी नेपालीहरुका प्रतिनिधिमुलक संघ ,संगठनहरुले सोच पुर्याउन आबस्यक रहेको छ ।
आफ्नो रगत र पसीना बगाएर राज्यको अर्थतन्त्र धान्दै आएका, मुलुकको परिबर्तनमा सहयोगी भूमिका र उल्लेखनीय योगदान रहेका, परिबर्तन पछि पनि राज्य ब्यबस्था बाटै अपहेलित भएर पनि अधिकारको लागि सँघर्ष गर्दै , आँफु, आफ्नो पीड़ा र ब्यथामा बाँचेर पनि आफ्ना परिबार र राष्ट्रको मुहारमा हाँसो छर्ने , समृद्धिको सपना देखेका, त्यसै अनुरूपको उद्देस्य बोकेका ति महान प्रवासी नेपाली श्रमिकहरुलाई सलाम गर्दै , बिस्वभरी छरीएर रहनु भएका सम्पुर्ण प्रवासी नेपाली दाजुभाई दीदी बहिनिहरु लगायत प्रवासी नेपाली आन्दोलनका अभियन्ताहरु सबैमा प्रवासी दिबसको हार्दिक शुभकामना ब्यक्त गर्दछु ।
(पौडेल प्रवासी नेपाली संघ भारतका केन्द्रीय सल्लाहकार हुन् ।)
वि.सं.२०७७ पुस ३ शुक्रवार १२:१२ मा प्रकाशित






























