“कमरेड अब पनि यो पार्टी विधिबाट चल्छ भन्ने आशा छ तपार्ईमा ?” प्रमुख अतिथि तर्फ केन्द्रीत गर्दै कमरेड रोहणले प्रश्न गरे ।
“मन्त्रीहरू नै पार्टीप्रति उत्तरदायित्व हुन छाडेको खबर आयो नी ! के यो साँच्चिकै हो त कमरेड ?” कमरेड तृष्णाले प्रश्न थपिन् ।
“संगठनलाई सहयोग गर्नुस् पनि भन्ने, सहयोग दिन जाँदा भेट दिनसम्म पनि आलटाल गर्ने …,” कामरेड सुवोधले कुरा राखे ।
“आफू (व्यक्ति) मात्रै बलियो बन्ने, मन्त्री भएसँगै नातावाद र क्षेत्रीयतावादमा मन्त्रीहरू डुबेका छन्…. अनुगमन कसले गर्छ ?” कमरेड प्रीतमले प्रश्न गरे ।
“मन्त्रालयमा नियुक्ति र सरुवा–बढुवाको चलखेल अस्वभाविक भएका समाचार आइरहेका छन् । पैसो जथाभावि उठाएको हल्ला र प्रचाबाजी व्याप्त छ… कसले उठाएको हो ? होइन भन्ने सत्य तथ्य भन्नु प¥यो नी !”कमरेड मोहनले प्रश्न गरे ।
बैठक विधिवित चल्न त दिनुस अनि कुरा राखौला हुँदैन … ?” उद्घोषक कमरेड दीपाले कार्यक्रम सुरुवात गर्न खोजिन् ।
“म अब कमरेड सुयोधनलाई बैठकको ऐजेन्डामाथि प्रकाश पारिदिनु हुन अनुरोध गर्दछु…” उद्घोषकले बोलाइन् ।
“प्रमुख अतिथि कमरेड, अतिथि कमरेडहरू, सहयोद्धा कमरेडहरू तथा सहभागी कमरेडहरू…, आज हामीले मुख्यतः ३ ऐजेण्डामा छलफल गर्नेछौँ । पार्टी सदस्यता र जनसंगठन विस्तार, जनतासँगको सम्बन्ध सुदृढ गर्ने र आगामी कार्यक्रम मध्ये स्थानीयतहको निर्वाचनमा हामी कसरी जाने ?” कमरेड सुयोधनले ऐजेण्डा सार्वजनिक गरे ।
“अघि कामरेडहरूले राखेका जिज्ञासा र प्रश्नहरूको उत्तर दिएर अघि बढौँ भो कामरेड । ऐजेण्डामा जानु भन्दा पहिला क्लियर पनि त हुनु प¥यो नी.. ” प्रमुख अतिथिले बोल्ने इशारा गरे ।
“म अब प्रमुख अतिथि कामरेडलाई जिज्ञासाहरूका बारेमा प्रष्टिकरण दिन अनुरोध गर्दछु …” उद्घोषकले आग्रह गरिन् ।
“कामरेडहरू, तपार्ईहरूले उठाएका धेरै सवालहरूसँग म पनि सहमत छु । तर गर्नुहुन्छ के ? भद्रगोलका बीचबाट गोल हान्ने बानीको विकास हामीले गरेका छौँ । सोचेजस्तो र खोजेजस्तो चिरिच्याट्ट पार्टी हामीले बनाउन सकेनौँ । विधि–नीति पद्धति भएको भए त १ नम्बरको सर्वश्रेष्ठ हैसियतबाट हामी किन यति तल खस्थ्यौ र ? हामीले निकै गडबडी व्यहोरेका छौँ । प्रणाली ठिक नभएपछि व्यक्तिवादी बन्ने, आफूखुसी निर्णय गर्ने, प्रतिबद्धता बिर्सने, आर्थिक अराजकतामा जाने र पुरै संसदवादी चरित्रमा बदलिने काम हुँदो रहेछ । यो सँगसँगै अर्को कुरो पनि त बुझ्नु प¥यो नी कामरेड, यहाँ जेजति खबरदारी उठेका छन् त्यो त आन्दोलनको निष्ठामा बचेको सम्पत्ति पनि त हो । रुपान्तरणका लागि आलोचनामा जोड दिएर हामीले सकेसम्म सच्याउने हो, तपार्ईहरूले यहाँ उठाउनु स्वभाविक हो । मैले माथि उठाउने छु…” प्रमुख अतिथिले आश्वासन सहितको मन्तव्य दिएपछि सहभागीहरूबाट बेजोड ताली बज्यो ।
“कुरो मात्रै हुने भएत हामीले पनि धेरै राख्यौँ, तपार्ईहरू कतिपयले पनि माथि निकै राख्नुभयो । के यसरी मात्रै रुपान्तरण सम्भव छ त ?” कामरेड प्रद्युम्नले गहकिलो प्रश्न गरे ।
“हेर्नुस् कामरेडहरू आज हामीले सहि कार्यनीति बोक्न नसकेको, रणनीतिलाई सघाउने गरी कार्ययोजना बनाउन नसकेको, कही कतै धरमर भएको भन्ने सवाल उठेका छन् । मूलतः त्यो सहि छैन ।” “जनवादी क्रान्तिका बाँकी कार्यभार पुरा गर्र्दै समाजवाद व्यवस्थापनमा जाने कुरो प्रष्ट छ तर हाम्रा व्यवहार र गतिविधि त्यसतर्फ परिलक्षित छन् की छैनन् ? मुल कुरो त्यहि हो । दिमागी नपुंसकताको संज्ञा पनि हामीलाई दिइएको छ । लाइन अनुसारको कार्यकर्ता खोजेर उनीहरूको सीप, कौशलता र क्षमता हेरेर काम बाँड्न नसकेको अनुभूति हामीले गरेका छौँ । राष्ट्रियता–जनतन्त्र र जनजीविकाका मुद्दाहरूमा कहिँकतै अल्मलिएका हौँ की भन्ने पनि हामीलाई परेको छ । आन्दोलनमा लाग्नेहरूलाई नै आन्दोलनको कोर्षमार्फत कसको सेवा गर्दैछु भन्ने थाहा हुन छाडेको प्रसङ्ग पनि आएको छ । मुल्यांकनको सहि संरचना बन्न नसकेकोले कार्यकर्ताको सहि व्यवस्थापन र मूल्यांकन प्रणाली नभएको, त्याग र बलिदानीको भावना हिसाबमा आउन छाडेको जस्तो अनुभूति बढीरहेको सत्य हो । पद, पैसा र पावरको चक्रमा आन्दोलनलाई गोलमटोल पार्न खोजे जस्तो पनि देखिएको छ । यी सबैको निराकरण नगरी सुखै छैन, त्यसैले त हामी राष्ट्रिय भेला बोलाउँदै छौँ…।” प्रमुख अतिथिले बोल्नासाथ परर ताली बजिहाल्यो ।
(प्रस्ततु कमरेडको नेपालपथ ऐक्यबद्धताको मंसिर अंकमा पनि पढ्न सक्नुहुन्छ)
वि.सं.२०७३ माघ ४ मंगलवार ०६:४३ मा प्रकाशित