
किन देखाउँ
धाँजैधाँजा परेर चर्किएको मन
कसैले मलहम लगाउँने छैन
बरु नुनचुक छर्कनेछ
र
उल्टो दिशामा मुन्टो घुमाउँदै
खुशीले खित्काछाडेर हाँस्नेछ ।
किन विमोचन गरुँ
हृदयको पानामा कुँदिएको
वेदनामय दुखान्त महाकाव्य
उसले बधाईको गङ्गाजलमा
विष घोलेर
हर्षका आँसु बगाउने छ ।
सरल मनहरु
छातीको ज्वालामुखी
छाती भित्रै रोकेर बाँच ।
यति ताप संचित गर कि
जब
ज्वालामुखी बिस्फोट भएर
चारैदिशा अग्निलाभा छरिन्छन्
लाभाको तप्तरापमा
स्वार्थ र अहंकारका पुत्लाहरु
खरानी बनेर जलुन्
र
त्यसको तेजिलो प्रकाशमा
समस्त सृष्टि
छपक्क छोपियोस् ।
वि.सं.२०७७ माघ ३ शनिवार ०९:०८ मा प्रकाशित






























