
मान्छे थियौ दुष्ट भयौ कि दानव
हिंसा लगातार नरोज मानव
हे बुद्ध लौ फर्क यतै रमाउन
त्यो शान्ति सन्देश मिठो सुनाउन ।१।
नेपाल हो यो घर प्रेमले बसौं
विकासका लागि सबै घुँडा धसौं
कैले नठानून् कमजोर शत्रुले
आफन्त ठानून् सब इष्ट मित्रले ।२।
सन्तानले नै अब हेप्न सक्तछन्
बूढाबुढी हुन् भनि खेद्न सक्तछन्
थ्यौ ज्ञानको सागर बुद्ध एउटा
मान्छन् सबै मानव हेर देवता ।३।
नेता भए दुर्जन राष्ट्रमा अति
बेचेर खान्छन् सब राष्ट्र भो खती
नारी लुटिन्छन् दिनमा दिनै कति
अन्याय मात्रै छ जताततै अति ।४।
मेची सुसाई जब बग्छ पूर्वमा
काली रमाई अनि बग्छ पश्चिम
हे बुद्ध संदेश मिठो सुनाउन
फर्केर आऊ धरणी बचाउन ।५।
वि.सं.२०७७ माघ ३ शनिवार ०९:१५ मा प्रकाशित






























