
बर्षौं देखि शारिरीक र
मानसिक उत्पीडनले
छियाछिया मुटु,
मारको ज्यादतीले लाटिसकेका
चिमोठ्दा नदुख्ने
एउटा नारी देह ।
सपना बिहिन
शून्य कातर आँखाहरू
शब्दहरू खोसिएका
निःशब्द मौन ओठ
लक्ष्य बिहिन
निरर्थक जिन्दगी ।
एकदिन …
सहनशीलताको बाँध टुट्यो
धैर्यको पहाड धस्किन्दै
मन भित्र स्वाभिमानले
शिर उठायो ।
क्रुर प्रहारहरूले दुख्न छोडेका देहमा
अनायासै दुखाइ बोध भयो ।
कातर आँखाहरूमा
दृढ निर्णय नाँच्न थाल्यो ।
र प्रथम चोटि ..
हो, प्रथम चोटि
आफू माथि उठ्नै लागेको
प्रहारलाई रोक्दै,
बर्षौं देखिको मौंन ओंठबाट
सशक्त, दृढ र आत्माविस्वासले भरिएको
एउटा शब्दको प्रस्फुटन भयो
प्रतिरोध …।
वि.सं.२०७७ माघ १७ शनिवार ०७:३६ मा प्रकाशित






























