
यौटा दुःख र पीरको कथन यो चेष्टा गरें लेखन
सम्झेको पल वेदना नयनमा यी आँसुका रोदन
भ्राताको बहुमूल्य जीवन लिला निभ्दै थियो रोशनी
आमालाइ त रातझैं हुनगई बिर्सिन्न कैल्यै पनि
सन्ध्या कालमहाँ सबैजन जुटी गर्थे सधैं किर्तन
पढ्थे भाग्वत साथमा हजुरकै बिर्सू कसोरी भन
कस्तो रोग पलायो क्यान्सर अहो हो प्राणघाती पनि
आमालाइ त रातझैं हुनगई बिर्सिन्न कैल्यै पनि
आयू अल्प लिएर यो भुवनमा हे दाजु जन्म्यौ किन
आमाको ममता कि निष्ठुर बनी उम्क्यौ कसोरी भन
मर्ने मानिस फर्किदैन कहिल्यै मिल्दैन है जीवनी
आमालाइ त रातझैँ हुनगई बिर्सिन्न कैल्यै पनि
तिम्रो प्राण लग्यो र दुष्ट यमले आमा भइन मुर्छित
छोराको मुख सम्म हेर्न नहुने आफै भई बन्चित
रोयो कोकिल त्यो विरक्त मनले डाँक्दै नरेन्द्र भनी
आमालाइ त रातझैँ हुनगई बिर्सिन्न कैल्यै पनि
तिम्रो यादगरेर ब्याकुल हुँदै रुन्छिन् ती आमा तर
आमाको ममता बुझेन यमले प्राणै लियो आखिर
फूपू भाइ बुवा भिनाजु र दिदी बिर्सेर जालान् पछि
आमालाइ त रातझैँ हुनगई बिर्सिन्न कैल्यै पनि
लाखौं कष्ट भुलेर रम्न सहजै सन्तानकै खातिर
के आमा भन सक्दछिन् र जिउनै छाडीगए आखिर
मिथ्या लाग्छ हरेक स्वप्न मनको यस्तै हुने हो भनी
आमालाइ त रातझैं हुनगई बिर्सिन्न कैल्यै पनि
शार्दूलविक्रीडित
वि.सं.२०७७ माघ २४ शनिवार ०७:१७ मा प्रकाशित






























