बोलीले पहिचान गर्न सकिने, को सभ्य को दुर्जन ?
बोली तिक्त भयो भने सहजमा, बन्लान् सबै दुस्मन
बोल्ने ढङ्ग पुगेन लौ यदि भने, होला ठुलो दुर्गति
बोली होस् रसिलो सुरम्य गतिको, बोली बनोस् ओखती
(१)
चिच्याईकन बोलिँदा सबतिरै, सद्भावना भाँडिने
होच्याईकन बोलिँदा सहज मै, आफन्त नै टाढिने
बोलीमा मृदुभाव रिक्त रहँदा, होला र के उन्नति
बोली होस् रसिलो सुरम्य गतिको, बोली बनोस् ओखती
(२)
प्रेमालाप हुँदा विनम्र पनले, बोल्यौ भने प्यार भो
बोलीमा ममता घुलेन सहजै, यो तिक्त संसार भो
चोथालेपन साँचिँदा हृदयमा, खुल्दैन प्रेमाकृति
बोली होस् रसिलो सुरम्य गतिको, बोली बनोस् ओखती
(३)
बोल्दा आदरसाथ बोल्न सिकिए, सद्भावना छाउँछ
बोलीमा कटुता भयो यदि भने, सन्ताप निम्त्याउँछ
बोलौँ शुद्ध विचार ली हृदयमा, चिन्ता नराखी रति
बोली होस् रसिलो सुरम्य गतिको, बोली बनोस् ओखती
(४)
बोल्दा प्याच्च नबोलिए हित हुने, जानेर लेऊ सब
बोली सौम्य सधैँ बनाउन सके, छर्ने मिठो सौरभ
बोलीमा विष घोलिँदा अवनिमा, तड्पेर मर्छन् कति
बोली होस् रसिलो सुरम्य गतिको, बोली बनोस् ओखती
(५)
छन्द–शार्दूलविक्रीडित
वि.सं.२०७७ माघ २४ शनिवार ०७:२१ मा प्रकाशित