
१.
यहाँ पाईला पाईलामा, कहर छ,
अक्सिजन दिने ठाउँमा, जहर छ,
जनतालाई सास धान्नै, पिरलो छ,
नेता जी लाई हिरो बन्ने, रहर छ ।
२.
कुहिरोमा जनताहरु, छट्पटी रहेकाछन्,
रोग व्याधी र अभाव सँग, डटि रहेकाछन्,
आँफुलाई भन्दा बढी, विस्वास गरेका मान्छे,
केवल स्वार्थपूर्तीका लागि, खटि रहेकाछन् ।
३.
खबरदार यो देशको, पेरीफेरी हाम्रो पनि हो,
बस्लान् नठान बिनासको, लिला हेरी हाम्रो पनि हो,
तिम्रो लुछाचुँडी देख्दा, लाज पनि सर्मायो अब त,
नसम्झ यो तिम्रो घर भित्रको, मझेरी हाम्रो पनि हो ।
४.
आस्वासनै आस्वासनको, पोका दिएका मान्छेहरु,
अनगिन्ती सपनाहरुका, झोँका दिएका मान्छेहरु,
तिमी सच्चिने कोशिश गर, नत्र आक्रोसित भई,
बौलाउन सक्छन् तिमीले, धोका दिएका मान्छेहरू ।
५.
न रगतले अघाउछन्,न त सत्ताले,
साथ दिन्छन् त्यस्तै,मण्डली जत्थाले,
देश र जनता भाँडमा,जाओस् के भो र ?
पोष्ने चिन्ता छ, आँफन्तलाई चैँ भत्ताले ।
चिरञ्जीवी ढकाल,नेपालगंज-२० राँझा एयरपोर्ट, बाँके
वि.सं.२०७७ माघ २४ शनिवार ०७:३१ मा प्रकाशित






























