
लट्ठी र डोरी
दुबै अफ्ठ्याराका साथी हुन्
जीवनका सहयोगी हुन्
यात्राका सारथि हुन्
लट्ठी
कहिले हतियार भएर
कहिले सारथि भएर आफुसँगै उभिन्छ
आफुसँगै पाइला पाइला टेकेर हिंड्छ
जुन हातले समाउँछन्
समाउने हातमा उसैको भरोसा हुन्छ
लट्ठी झुक्दैन
बटारिदैन
डोरी आफुसँगै यात्रामा उभिदैन
उभ्याउन
झुन्ड्याउनु पर्छ वा वारपार गर्न तन्काउनु पर्छ
डोरीलाई कठिनाईहरूमा बोक्नु पर्छ
एक हातमा थेगिने सामथ्र्य हुन्न
दुई हातले सँगसगैं घिसार्नु पर्छ
घस्रिनु पर्छ
परन्तु
आकारमा लामो भएपनि
डोरीको अलग गुण छ
साना साना धागो मिलाएर बाटिन्छ डोरी
सामुहिक सामथ्र्य हो डोरी
डोरी पहाडमा चढाउँछन
खोंच र गल्छिहरूमा ओराल्छन्
डोरी तन्किएपछि
घुमेका बाटोलाई छोटिन्छन्
तर लट्ठी
हिड्दा हिड्दैको उकालो
वा
झर्दा झर्दैको ओरालोमा
अक्सर एक्लो हुन्छ एक्लै यात्रा गर्छ
लट्ठी टेक्दैमा
बाटो र घुम्तिहरू छोटिदैनन्
अक्सर
बाटिएका डोरी सहजै चुँडिदैनन्
हात समातेका डोरी यात्रामा छुट्दैनन्
तर
लट्ठी कहिपनि छुट्न सक्छ
किनकी
लट्ठी सहजै भाँचिन्छ
नुगिन जान्दैन
वि.सं.२०७७ माघ २४ शनिवार ०७:३५ मा प्रकाशित






























