पसिनाको जुलुसहरू निस्कन्छ
निधारको हिमालबाट
कुर्कुच्चाको तराईसम्म
लाम–लश्कर लागेर
खुई – खुई भट्याउँछ
इमानहरूले
लु हेर,
श्रमिक आन्दोलन छेडिएको छ
ढिकुटीहरूमा, चुल्हाहरूमा,
परिश्रमहरूद्वारा
चर्को घाम नमानी मुशलधारे वर्षा नभनी
चल्दैछ जोड–तोडको नारा–बाजीहरू
बारीको काँन्लातिर
औ आली–आलीमा
आवेदन –पत्र कोर्दैछन् खेतहरूमा
हलो अनि जुवा,
माले–तारे र हली साक्षी छन्
औंला भाँच्दै सुधार्दैछन् अंक गणितहरू
हर्के दाइ !
जमीनको नाङ्गलोमा केलाउँदैछन कंकड
साइँली दिदी र माइली दिदी !
सायद !
उब्जाऊको अड्कल नमिलेर होकी
सायद !
मेहनतको फल रित्तो भएर होकी
त्यसैले होला,
संघर्षहरूले मुख खोल्दैछ
बारीको पाटामा उभेर
किशानहरूको मोल किन सस्तो ???
बिद्रोहले मुट्ठी उठाउँदैछ
किन गर्छ किसानहरूले आत्मदाह ???
वि.सं.२०७७ फागुन १ शनिवार ०८:१६ मा प्रकाशित






























