जब, जब म बिउँझन्छु
पानी कलकल बगिरहेछ
निरन्तर तलतिर
दवानल अग्नि उदरमा रहेको
अपार जलसम्पदा ।
तर, तर के गर्नु हुतिहारा छन
मेरो देशका अगुवा
र, बक्छन गफको पुलिन्दा
अनि लज्जा नमानी भन्छन
देश माथि पुगेको छ ।
जब, जब म बिउँझन्छु
यसरी नैस पानी झैँ तलतिरै
युवाहरू अरबको तातोमा
जलिरहेछन
युवतीहरू बेली नृत्य गराईदै
पन्ना, मुगा र सिक्कामा साँटिदैछन
सेखहरूको पलङ्गमा
उतैतिर र फेरि,
अकारण कोर्राका डसाइ
पुठोमा समेटेर
धुरूधुरू रोएर दर्दहरू
बाकसका शबहरूका साथमा
रेमिट्यान्समा आइपुग्छ
मेरो देशमा ।
अनि, अनि सम्वेदनाहीन छन
मेरो देशका अगुवा
र बक्छन गफको पुलिन्दा
अनि लज्जा नमानी भन्छन्
देश समृद्धि पथमा छ ।
जब, जब म बिउँझन्छु
मेरो देश सगरमाथा हो
बुद्ध जन्मेको देश हो
नालापानी हो
अर्थात, बीर गोरखा हो
म कसरी कहुँ
म कसरी सहुँ
पानी कलकल तलतिर बगिरहेछ
युवा युवती रेमिट्यान्समा फेरीरहेछन
रगत पसीनाले आर्जित लोकतन्त्र
फरियामा गुजुल्टिरहेछ
र, हुतिहारा, सम्बेदनाहीन,
बेसरम, बेलगाम
मेरो देशका अगुवाहरूको
गफको पुलिन्दा
म कति सुनौ !?
जब, जब म बिउँझन्छु
रगत पसिनाले निथ्रुक्क
मेरो अनेक आन्दोलनहरूले
स्थापित परिवर्तनमा
बिगत जस्तै
शहीदको सपना रोइरहेछ
घाइते अपाङ्ग र जेलयातनाबाट
बिक्षिप्त मनहरू
बिगत सम्झेर लज्जा बोध गरिरहेछन
नेताहरू बेसरम
श्रीमती, बुहारी, छोरी, जुवाईंहरूमा
सिमित छन
पद, पैसा र पद पहिला आफूलाई
र फरियालाई
अनि, अनि बक्छन
लोकतन्त्र ।
हेर, हेरौं त बेलगाम छन
मेरो देशका अगुवा
र, बक्छन गफको पुलिन्दा
अनि लज्जा नमानी भन्छन्
देशमा लोकतन्त्र फस्टाएको छ ।
जब, जब म बिउँझन्छु
मेरो देश सगरमाथा हो
बुद्ध जन्मेको देश हो
नालापानी हो
अर्थात, बीर गोरखा हो
म कसरी कहुँ
म कसरी सहुँ
पानी कलकल तलतिर बगिरहेछ
युवा युवती रेमिट्यान्समा फेरीरहेछन
रगत पसीनाले आर्जित लोकतन्त्र
फरियामा गुजुल्टिरहेछ
र, हुतिहारा, सम्बेदनाहीन,
बेसरम, बेलगाम
मेरो देशका अगुवाहरूको
गफको पुलिन्दा
म कति सुनौ !?
म बाफिदै छु
र, भन्दैछु मैले खोजेको
लोकतन्त्र खोइ ?
वि.सं.२०७७ फागुन ८ शनिवार ०६:१८ मा प्रकाशित






























