
फागुन २५, काठमाडौं । निर्वाचन आयोगले प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)लाई औपचारिक बदर गर्ने निर्णय गरेको छ । आयोगले सर्वोच्च अदालतको फागुन २३ गतेको फैसलाअनुसार नेकपालाई बदर गर्दै साबिक नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)लाई ब्यूँताउने निर्णय गरेको छ ।
साथै आयोगले एमाले र माओवादी केन्द्रको एकतापश्चात गोपाल किराँतीको अध्यक्षतामा दर्ता भएको नेकपा (माओवादी केन्द्र) र सन्धा तिवारीको अध्यक्षतामा दर्ता भएको नेकपा (एमाले)लाई पनि खारेज गर्ने निर्णय गरेको छ ।
आयोगले किराँती र तिवारीलाई दलको नयाँ नाम र चिन्हसहित निवेदन दिन पनि जानकारी गराएको छ । मंगलबार बसेको आयोगका पदाधिकारीको बैठकले किराँती र तिवारीलाई १५ दिनभित्र आयोगमा नयाँ दलको निवेदन दिन भनेको छ ।
बैठकपछि आयोगले सार्वजनिक गरेको विज्ञप्तीमा भनिएको छ, ‘राजनीतिक दलसम्बन्धी ऐन, २०७३को दफा ६ (१) (ङ) र राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ को नियम ९ बमोजिम राजनीतिक दलका रुपमा कायम रही रहन सक्ने नदेखिँदा तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को हकमा अर्को नयाँ नाम र चिन्ह तथा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत माक्र्सवादी–लेनिनवादी)को हकमा नयाँ नाम प्रस्ताव गरी १५ (पन्ध्र) दिनभित्र सुधारसहितको विवरण आयोग समक्ष पेश गर्न जानकारी गराउने ।’