
३ चैत, काठमाडौं । बहराइनका राजकुमारको टोली सगरमाथा आरोहणका लागि नेपाल आइपुगेको छ ।
सोमबार नेपाल आइपुगेको उक्त टोलीमा बहराइनका राजकुमार सेख महम्मद अमाद अल खलिफासहित १६ जनाको टोली बहराइन डिफेन्स फोर्सको सैन्य जहाज चढेर काठमाडौं आएको हो ।
उक्त १६ जनाको टोलीमा बहराइनको रोयल गार्ड (डिफेन्स फोर्स) मा कार्यरत १३ बहराइनी नागरिक र ३ जना बेलायती नागरिक रहेका छन् ।
उनीहरुको आरोहणका लागि काठमाडौंको कपनस्थित सेभेन समिट ट्रेक्स प्रा.लिले व्यवस्थापन गरेको छ । उक्त टोलीले ६ महिना अघि लोबुचे पिक र मनास्लु हिमालको सफल आरोहण गरिरकेको सेभेन समिट ट्रेक्स प्रा.लिका अध्यक्ष मिङ्मा शेर्पाले बताए ।
सोमबार काठमाडौं उत्रिएका उनीहरुको टोली नक्सालस्थित होटल मेरियटमा बसेको छ । उनीहरु १५ दिनसम्म क्वारेन्टिनमा रहे पश्चात सगरमाथा आरोहणका लागि निस्कने पनि अध्यक्ष शेर्पाले संसारन्युजलाई जानकारी दिएका छन् ।
बहराइनको उच्चपदस्थको टोली सगरमाथा आरोहणमा आएकोमा नेपाल र नेपालीकै लागि गर्वको कुरा रहेको शेर्पाले बताए । ‘आरोहरणका लागि यसरी उच्चपदस्थ टोली आउनु भनेको नेपाल र नेपालीकै लागि गर्वको कुरा हो,’ अध्यक्ष शेर्पाले भने, ‘यसले संसारभर राम्रो सन्देश जाने र नेपाल भ्रमण तथा आरोहणका लागि आउने पर्यटकको वृद्दि हुने हामीले आसा लिएका छौं ।’
झण्डै ८० दिन नेपालमा रहने सो टोलीले यसबीचमा गोरखाको चुमनुब्री गाउँपालिका १ मा रहेको समागाउँका बासिन्दाको लागि कोरोना भाइरस (कोभिड १९) विरुद्ध लगाइने २ हजार डोज अस्ट्रजेनिका खोप सहयोग गर्ने समेत बताइएको छ ।
नेपाली दूतावास बहराइनबाट खुसी व्यक्त
नेपाली दूतावास बहराइनले राजकुमारसहितको १६ जनाको टोलीलाई सोमबार एक कार्यक्रमका बीच विदाइ गरेको छ ।
नेपाल आउनुपूर्व बहराइनका लागि नेपाली राजदूत पदम सुन्दास र नियोगका द्धितीयसचिव अरुणा घिसीङ लगायत दूतावास परिवारले सो टोलीलाई भेटेर आरोहण सफलताको शुभकामना दिएको छ ।
पर्वतारोहण सम्बन्धमा बहराइनबाट भइरहेको पछिल्ला प्रयासहरुबाट नेपाल र बहराइनबीचको सम्बन्ध प्रगाढ बन्दै गएकोमा राजदूत सुन्दासले खुसी व्यक्त गरेका छन् ।