६ चैत, पाँचथर । जिल्ला जडीबुटी सहकारी सङ्घ गठन गरिएको छ । यहाँ सक्रिय रहेका जडीबुटी सहकारीको फिदिममा भएको भेलाले पेम्बा शेर्पाको अध्यक्षतामा जिल्ला सङ्घ गठन गरेको हो ।
जिल्लामा क्रियाशील रहेका १३ जडीबुटी सहकारीको सहभागितामा सङ्घ गठन गरिएको हो । नवगठित सङ्घको उपाध्यक्षमा तेजबहादुर आङथुपो, सचिवमा डिल्लीप्रसाद मुखिया र कोषाध्यक्षमा स्मृति शर्मा निर्वाचित भएकचा छन् । यस्तै सदस्यमा अनिल केरुङ, गुनेन्द्र सम्बाहाम्फे, अनिता इजम र चिरञ्जिवी आङ्देम्बे रहेका छन् । एक सदस्य मनोनयन गर्न बाँकी रहेको नवनिर्वाचित समितिले जनाएको छ ।
जडीबुटी सहकारी सङ्घ केन्द्रीय समितिका अध्यक्ष ईश्वरी पाण्डेको प्रमुख आतिथ्यतामा जिल्ला सङ्घ घोषणा गरिएको हो । उनले जडीबुटी सहकारीको संवर्धनमार्फत जडीबुटी उत्पादन वृद्धि गरी जडीबुटी उत्पादकको आर्थिक अवस्था सुधार गर्नुपर्नेमा जोड दिए । जडीबुटी क्षेत्रमा रहेको प्रचुर सम्भावनालाई सदुपयोग गर्न सङ्घले निरन्तर भूमिका खेल्ने उनका भनाइ थियो ।
सङ्घमा तीनचुले जडीबुटी सहकारी, तुम्बेवा जडीबुटी सहकारी, सेहोनाम्लाङ जडीबुटी सहकारी, दाजुभाइ जडीबुटी कृषि सहकारी, फाल्गुनन्द जडीबुटी कृषि सहकारी, कमलपोखरी जडीबुटी कृषि सहकारी, फक्ताङलुङ जडीबुटी उत्पादन तथा प्रशोधन सहकारी, तीनसिमाना जडीबुटी कृषि सहकारी, दोङसोच जडीबुटी कृषि सहकारी, श्रीसेवा जडीबुटी कृषि सहकारी, जोरपोखरी जडीबुटी कृषि सहकारीलगायतका सहकारी आवद्ध भएका छन् ।
रासस
वि.सं.२०७७ चैत ६ शुक्रवार १२:१२ मा प्रकाशित




























