
२० चैत, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद पुर्नस्थापना भएपनि काम हुन नसकेको भन्दै संसदलाई तानातानको थलो मात्र बनाइएको बताएका छन् ।
भृकुटी मण्डपमा शुक्रबार मेलाम्ची खानेपानी वितरण उद्घाटन कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओली संसदलाई तानातानको थलो बनाउने काम भएको भन्दै केही बलिया हुँ भन्ने व्यक्तिहरुको स्वार्थका तानातानमा अब संसद पर्न नहुने बताए ।
‘संसदमा देशको बारेमा सोचिनु पर्छ । जनताका बारेमा, विकास निर्माणको बारेमा तथा देशलाई कसरी अगाडि बढाउने भन्ने बारेमा, देशमा शान्ति, सु–व्यवस्था, अमन चयन कसरी राख्ने भन्नेबारेमा संसदले सोच्नुपर्छ,’ संम्बोधनका क्रममा प्रधानमन्त्रीले भने, ‘तर सरकारलाई काम गर्न दिइएन भनेर मैले पहिले भनेको थिए । अहिले पनि काम गर्न दिइएको छैन ।’
प्रधानमन्त्रीले व्यक्तिगत आकांक्षा परिपूर्ति नहुँदा संविधान च्यातियो, मासियो, प्रतिगमन भयो भन्नेहरुको कुरा सुनेर नअलमलिन आग्रह समेत गरे । ‘देश अगाडि बढ्छ । तपाई हामीले अगाडि बढाउने हो । विकास क्रम अगाडि बढ्छ । सरकारको ध्यान यसैमा छ ।’ प्रधानमन्त्रीले भने ।