‘सञ्चै छौ मालती ? के छ खबर ?’
‘हजुर ! सब ठिक अनि…..’
निकै समय मालतीले खुब रसिला कुरा गरी । उसलाई थुप्रैले यसरी फोनमा सम्झिन्छन् । शारीरिक रूपमा पनि सुकिला पोशाकमा चिटिक्क परेर हिँड्ने उसको बान्की निकै लोभ लाग्दो थियो । साथीहरू माझ पनि निकै सहयोगी, फरासिली र हलुका मानिन्थी ऊ ।
‘बोली पनि ललिते, छ त्यो मालतीको भेट्दै मोहनी लाइसक्छे । काउले कस्ती ?’
त्यसैले जताततै उसका प्रशंसकहरू छरपष्टै छन् । सामाजिक काममा पनि उत्तिकै अग्रसर जता पनि घुल्ने, जे पनि गर्ने, जोसित पनि पुग्ने ।
‘आफ्नो लोग्नेलाई यति मानितो गर्छे ’पति परमेश्वर’ हुन्छ भन्ने कुरा उसैको पतिभक्तिबाट सहजै अनुमान लगाउँछु म । श्रीमानलाई केही गर्न पर्दैन ।’
‘फेसबुकमा यस्ता राम्रा अनि आकर्षक सेल्फीहरू राख्छे मानौं कुनै खालकी मोडल, हिरोइन र सेलिब्रेटीभन्दा कम छैन । निकै समय भिडियो कल, च्याटिङ अनि लाइक, कमेन्ट गरेर आनन्द लिन्छु मैले ।’
गाउँका पाका बूढाबूढीहरू पनि उसको तारिफ गरेर थाक्दैनन् । हुनसम्मकी नमूना छे ऊ ।
‘मलाई अप्ठेरो पर्दा तुरून्त ३ लाख निकालेर दिई । समस्या टरीहाल्यो । त्यसपछि उसित कति काम चलाएँ मैले ।’ उसको गुन खाएकाले प्रशंसा थपिहाल्थे ।
‘सर्वशक्ति सर्वगुण सम्पन्न छे भन्न मन लाग्छ मलाई त ।’
‘समाजमा ऊ जत्तिको अग्रसर, सहयोगी र लोकप्रिय अहिलेसम्म कुनै महिलाहरू निस्कन सकेका छैनन् ।’
‘जे भए नि ! उसलाई देखेपछि सबै किसिमका दुःखहरू भुलिन्छ ।’ अर्का एक जनाले थपे ।
उपस्थित सबैले एक एक गरी यस्तै गरी उसको तारिफ, व्यक्तित्व, लोकप्रियता, पहुँच अनि सर्वगुण सम्पन्नताको पेटभरी तारिफ गरेर थाकेनन् ।
अन्तमा
‘अनि ?….’
‘केही छ बाँकी ?’ एक्कासी अर्कै वातावरणमा मोडिन पुग्यो कुरो ।
‘छ ।’ हिम्मत बटुलेर एक जनाले अगाडी सरेर भने –‘यी सबै तारिफहरू म उसको श्रीमानका कोणबाट हेर्नु परेका भए …..के गर्थें के गर्थें !’
समाप्त
वि.सं.२०७७ चैत २१ शनिवार ०६:०० मा प्रकाशित




























