२३ चैत, काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा १ लाख बढीमा कोरोना संक्रमण पुष्टि भएको छ ।
भारतको स्वास्थ्य मन्त्रालयका अनुसार आइतबार १ लाख ३ हजार ७९४ जनामा कोरोना संक्रमण देखिनुका साथै ४७७ जनाको निधन भएको छ ।केही दिनयता भारतको महाराष्ट्रमा संक्रमणले भयावह रुप लिएको छ । त्यहाँ आइतबार ५७ हजार ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमितको संख्या बढ्दै गएपछि महाराष्ट्रमा राति आठ बजेदेखि बिहान सात बजेसम्म लागुहुने गरी रात्रिकालिन कफ्र्यु लगाइएको छ ।
भारतमा हालसम्म १ करोड २६ लाख मानिस कोरोना भाइरसको चपेटामा परिसकेका छन् । जसमा १ करोड २७ लाख संक्रमित निको भइसकेका छन् भने ५० हजार ४३८ संक्रमित उपचाररत रहेको कोभिड १९ इण्डिया डट ओआरजीले जनाएको छ ।
भारतमा हालसम्म १ लाख ६५ हजारले ज्यान गुमाइसकेका छन् भने ७ लाख ३७ हजार सक्रिय केश रहेका छन् । भारत कोरोना संक्रमित बढी हुने देशमा पहिलो नम्बरमा रहेको छ ।
यी ६ राज्य सबैभन्दा बढी प्रभावित
भारतको महाराष्ट्र सबैभन्दा बढी संक्रमित हुने राज्यमा परेको छ । त्यहाँ आइतबार ५७ हजार ७४ जना कोरोना संक्रमित थपिएका छन् भने २२२ जनाको निधन भएको छ ।
दिल्लीमा पछिल्लो २४ घण्टामा ४ हजार ३३ नयाँ सक्रमित थपिएका छन् भने २१ जनाको निधन भएको छ ।
मध्ये प्रदेशमा आइतबार ३ हजार १७८ जना संक्रमित थपिएका छन् भने ११ जनाको निधन भएको छ ।
त्यस्तै पन्जाबमा ३ हजार ६ जना नयाँ संक्रमित थपिएका छन् भने ५१ जनाको निधन भएको छ । गुजरातमा २ हजार ८७५ संक्रमित थपिएका छन् भने १४ जनाको निधन भएको छ ।
राजस्थानमा १ हजार ७२९ जना संक्रमित थपिएका छन् भने २ जनाको निधन भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
वि.सं.२०७७ चैत २३ सोमवार ०९:५९ मा प्रकाशित






























