
२७ चैत, काठमाडौं । तीन दल बिच सत्ता समीकरणको छलफलका लागि आज नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले बैठक आह्वान गरेका छन् । उनले छलफलका लागि माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) का नेतृत्वलाई बोलाएका छन् ।
देउवाले छलफलका लागि काङग्रेसका शीर्षस्थ नेताहरु, माओवादी केन्द्र र जसपालाई शुक्रबार ३ बजे आफ्नो निवास बूढानीलकण्ठमा बोलाएका हुन् । यसअघि शुक्रबार बसेको काङग्रेस पार्टी केन्द्रीय कार्यसमितिको बैठकले नयाँ सरकार गठनका लागि पहल गर्ने निर्णय गरेको थियो ।
लामो समय सरकारमा जान इच्छा नदेखाएको काङग्रेसले अब भने नयाँ सरकार गठनका लागि आफुलाई सक्रिय बनाउने भएको छ । जसपा भित्रको विवादका कारण अझैपनि सत्ता समीकरणले कस्तो मोड लिन्छ एकिन गर्न सक्ने अवस्था रहेको छैन् ।
जसपाभित्र हाल दुई धार रहेको छ। महन्थ ठाकुर नेतृत्व केपी ओली सरकारले आफुहरुको माग सम्बोधन गरे उसैलाई साथ दिने पक्षमा छ भने उपेन्द्र यादव र बाबुराम भट्टराई नेतृत्वले भने ओलीले चालेका पछिल्ला कदम प्रतिगामी भन्दै ओली नेतृत्वको सरकारलाई कुनैपनि हालतमा साथ नदिने बताउँदै आएका छन् ।