घाँसको भारी बोकी जंगली धाराको छेउमा आइपुगेपछि बिसाए । अनि एकक्षण चाहिँ मजाले थाकाई मारे । मूल धाराको पानी नेभारोको पातमा दूना बनाएर घ्वाट्ट घ्वाट्ट पिएर तिर्खा पनि मेटाए । निधारभरि पसिनाको भललाई टोपी खोलेर पुच्छदै नै ठूलो श्वास फेरे । त्यतिबेलासम्म मैले घाँसको भारी भूलेर एउटा सपना बन्नु पो थालेछु । मैले सोच्दै मनमनै भने –आ ! बित्थामा गाई पनि के पाल्नु दुःख मात्रै भयो। अब सहज रुपियाँ कमाउने मेलोमेसोतिर जानुपर्यो लाग्दै थियो । मेरो ठूलो सपना छ । एउटा सिमेन्टको बलियो छतवाला घर होस्। घरको छेउमा एउटा कर नभए पनि रहरको भटभटे होस् न तै बरू । अर्को मनले भन्दै थिए – यत्रो रूपियाँ कसो गरी कमाउनु ? अहिलेको जमानामा साह्रै छ है कान्छा साह्रै छ है । हो पनि क्षण भरमै रूपियाँ आउने न बोट छ, न त जादु नै थियो म संग । फेरि यसो सोचे हिज आज सहर, गाउँबस्ती सबैतिर राजनीतिको मौसम छ । आ ! अब राजनीतिक पार्टी तिरै लाग्नु पर्ला जे होला होला । पेट पालो पनि हुने । नाम पनि रहने । दाम पनि पर्ने,फेरी भाग्य फेरिए त क्या दामी लाईफ हगि कान्छा ! लागिरह्यो म आफैलाई ।
भन्दा नभन्दै राजनीतिक मैदानमा निस्किएदेखि खानु समय छैन ।अन्तरिसंग बात चित पनि धेरै कम्ति हुन थाल्छ । उ संग बात भनेको नै आज यता मिटिङ्ग छ । भोली उता मिटिङ्ग छ । पर्सी कसलाई पो भेट्नु जानु पर्ने यस्तै बात हुन थाल्यो । गाईबस्तु खेतबारी चामल, नुन् र तरकारीको बात हुन छोड्यो । अन्तरी र मेरो कुरा हुन्छ त छिट्टोखाले काम ,दाम र मामको ।
मेरो व्यवहार परिवर्तन देख्दा मेरी अन्तरी अतालिएछन् । अनि कराउँदै थिईन् । हन ! यो मान्छे बहुलाएकै हो कि केउ ? आइले पार्टी भन्दै हिडीÞ बस्नु भराई गाईलाई घाँस टाटनामा छैन भने चाहिँ तिम्रो पनि बेलुकी थालभरिको खुराक रित्तियो नि बुझ्यौ के कान्छा । अनि अझै भन्दै थिईन् जस्को सिंङ्ग छैन उसैको नाम तिखे भन्ने उखान सुनेको छौ के ? सुनेको छैनौं भने सुन र बुझ तिखे चै तिमी जस्तो आधाकल्चो जन्तुलाई भनिन्दो रैछ नि कान्छा । म भने उसको कचकच सहेर एउटा उड़ान भर्दै थिए । पार्टीको कार्यक्रम बनाउन थाले । हरेक दिन व्यस्त भए । अन्तरीसंग हरेक बिहान बेलुकी भईबस्ने झेउला पनि हुन छोड्यो । पार्टी तिर हिँड्दा फुर्सद नै थिएन मलाई । बिहान निस्केपछि बेलुकीमात्र घर भित्र पस्छु । मैले सोच्दै थिए अब अन्तरीलाई सुख दिउला उसले पनि इज्जेत पाउला । म हाइस्कूलमा घुसघास गरेर टिचर काम फत्ते बनाईहाल्छु । अनि बिस्तारै अन्तरीलाई पनि प्राईमेरी स्कुलमा चेपचाप पारी हालौला । यति भए हाम्रो दुःख डाड़ा कटियो भन्दै मनमनै गदगद हुन्थे ।
मेरी अन्तरी भने राजनीतिक पार्टीको कुरा भनेपछि बान्ता गरे झैं गर्थ्यो । राजनीतिको पहिलो अक्षरको ‘र’ पनि सुन्न चहादैन थिइन् । अनि आँखा ठूलो पारेर चहकिलो स्वरले कराउथिन् दश नङ्ग्रा नगरे पुग्दैन क्यारे तिमी बनेछौ राजनीतिको बड़े बाठ्ठे नेता ईईईई नाप्यौ भनेर उसले आफ्नै हातले आफ्नै अनुहार लोबारनु पनि चुक्दैनन् मेरी अन्तरी । उ झोकिन्दै अझै भन्दै छिन् आइले पार्टी भन्दै गर कि ! कान्छा भोलि सबैभन्दा पहिला तिमीलाई नै तिमी भन्दा माथिल्लो पंक्तिका राजनीतिज्ञहरूले फित्कौलीले उछाटे जस्तै कहिले नउठ्ने गरि उछाटाईदेला नि । तब मात्र पो तिमीले चाख्नेछौ र बुझ्छौ पनि । आइले तिमी जतिनै उफ्री पाफ्री गर न भोलि यहि गाईलाई घाँस काट्दै गरेको तिम्रो आफ्नै वास्तविकता पाउँदा मात्र थाहा हुनेछ कि थोत्रे सपना र एउटा सत्य वास्तविक भिन्नताको कुरा! बुझ्यौ नि कान्छा ? अर्को कुरा राजनीतिक घिनलाग्दो खेलको स्वाद चाखेर नै तिम्रो बुढेसकालमा चेत पनि आउला कि हगि कान्छा ? भन्दै ब्याङग्य मुस्कानसंगै एउटा उखान पनि जोडÞिहाल्छिन् ‘आकाशको राहु पातलको केतु नपरि के चेतु’ होला है कान्छा भन्दै गईन् हस्याङ फुसुङ्ग गोठ तिर ।
आजभने मलाई पनि उसको कुरा गजब लाग्यो । हन म पो राजनीति लिड गरुँ भन्नु खोजेको त अन्तरीमा पो नेतृत्वको पुरै गुण रहेछ त । अब यसलाई पनि पार्टीको नारी मोर्चा पद दिनु पर्ला काम चलाउनु सक्ने रैछ । फेरी एकमनले सोच्छु उ पनि नेतृ म पनि नेता यति भए पुग्यो जिन्दगीलाई । मैले नेता बन्ने सपना देख्नु छोडिनँ ।अन्तरीले संधै किचकिच गर्नु छोडिनन् ।
कति चाँडै नेता पनि बनिसकेछु । गाउँ भरि हल्ला खल्ला छ । चारैतिर मेरै त जय–जयकार छ । गलाभरि खादा मालाको थाकले पुरिएछु । बलेरो गाड़ीको अघिल्लो सिटमा बसी सवारी भईरहेको थिए । अचनाक गाड़ी सानो खल्टामा ख्याच्क्क हुँदा पो खै मुन्टो कस्तो प्रकारले हल्लियो कि मेरो त मुन्टो नै दुखेर अ..र अ..र पो भए । त्यतिनै बेला खै कसो कसो हुँदा साँझको शिरिरिर चिसो हावाले मेरो थाकेको शरीरलाई स्पर्श गर्दा पो म झस्किएछु । म बिम्झिएछु।अ नि यता उति पलाक पुलुक हेरेको त अपुई घाँसको भारी बिसाएको मान्छे बिसाएकै ठाउँमा दिउँसै जंगलभित्रै पो भुसुक्कै निदाईपठाएछु । हैट ! अनि देख्दै थिएछु एउटा आनन्दको मिठो सपना,र झुम्दैथिएछु सुन्दर सपनाकै देशमा । मिठो जोसमा । अनि बेहोशमा ।
अघि गाड़ी हल्लिन्दा दुखेको घिच्रो होइन रैछ नि । गह्रौं भारीको प्रभाव परेको रैछ गाठे । त्यतिबेला एक्लै हाँसे । एक्लै रमाए । त्यो सपनाले केही सन्तुष्टी पाए । तब पो अलिकति थकान अलिकति सपनासित साटेछु । अनि एकपल्ट खुईया…गरेर हाय मजाले काड़दै नै पसिनाले भिजेकै त्यो टोपी ओड़े अनि टाउकोमा थाप्ली मिलाईवरी फेरी एक्लै घाँसको भारी बोकी मनमनै आफैलाई गिज्याउदै गिज्याउदै नै हिड़े आफ्नै बाटो उकालै उकालो…. उकालै उकालो…।
वि.सं.२०७७ चैत २८ शनिवार ०६:४० मा प्रकाशित






























