
२८ चैत, चितवन । नेपाली कांग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले कांग्रेसको नेतृत्वमा छिटै नयाँ सरकार बन्ने बताएका छन् ।
शनिबार चितवनमा पत्रकारसँग कुराकानी गर्दै महामन्त्री कोइरालाले कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार बन्ने बताएका हुन् ।
“शेरबहादुरजी संसदीय दलको नेता हुनुहुन्छ । उहाँकै नेतृत्वमा अब सरकार बन्छ । यस विषयमा अन्य दलसँग छलफल जारी छ ।” महामन्त्री कोइरालाले भने ।
महामन्त्री कोइरालाले जनता समाजवादी पाटीसँग सरकारका विषयमा छलफल भइरहेको र केही दिनमा नै टुङ्गो लाग्ने समेत बताए ।
“जसपासँग छलफल भइरहेको छ । उहाँहरु पनि आन्तरिक छलफलमा हुनुहुन्छ । जसपाको निर्णय आएलगत्तै सरकार परिवर्तन हुन्छ ।’ महामन्त्री कोइरालाले भने ।