३० चैत, काठमाडौं । यहि चैत २७ गते राष्ट्रपतिद्धारा प्रदान गरिएको विभुषणमा संसदद्धारा पारित चुच्चोसहितको नयाँ नक्सा समावेश नगरेर पुरानै नक्सा राखिएकोमा सर्वत्र सरकारको आलोचना भइरहेको छ ।
यस विषयमा गृहमन्त्रालयले विभुषण २०७६ सालमा घोषणा गरिएकाले पुरानो नक्सा समावेश भएको भन्दै स्पष्टीकरण दिएपनि संसदको बहुमतले पारित गरिएको नेपालको नयाँ नक्सा पदकमा नराखेर सरकारले गम्भीर भुल गरेको भन्दै सोमबार संसदमा यस विषयमा आवाज उठाइएको थियो ।
संसदमा नेपाली कांग्रेसकी सांसद पुष्पा भुसाल गौतमले सरकारले राष्ट्रियता देखाउने चुच्चे नक्सा हराउने कहावत नेपाली राजनीतिमा छाएको भन्दै राष्ट्रपतिद्धारा प्रदान गरिएको विभुषण पदकमा सदनबाट सर्वसम्मत पारित भएको चुच्चो नक्सा नराखेर गम्भीर भुल गरेको बताइन् ।
उनले सरकारले संसदले दिएको निर्देशन सरकारले पटक पटक पालना नगरेको भन्दै कहिले नक्सामा संशोधन गरेका कुरामा, भूमि फितर्था ल्याउने काममा कुनै पहलकदमी नगरेको, नयाँ नक्सालाई पाठ्यक्रममा समावेश नगरेका कुराहरु रहेको समेत बताइन् ।
‘सबैभन्दा ठूलो आपत्ति २७ गते राष्ट्रपतिद्धारा जुन विभुषण प्रदान भएको छ, जुन पदमा अहिलेको नयाँ नक्सा हटाइएको छ, त्यसको जिम्मेवारी यो सरकारले लिने कि नलिने ? सरकारले गरेको यो गम्भीर भुल गरेको त्यसको जवाफ देहिता यो सरकारको नेतृत्व गरेका प्रधानमन्त्रीले लिने कि नलिने ? गम्भीर भुल सरकारले किन गरेको छ भन्ने कुरा संसदले जान्न खोजेको छ । संसदमा आएर प्रधानमन्त्रीले यसको जवाफ दिन हामी आग्रह गछौं ।’
त्यस्तै नेकपा माओवादी केन्द्रका शक्ति सांसद शक्ति बस्नेतले सम्मान गर्ने निर्णय ०७६ मा भएपनि पदक वितरण २०७७ मा गरिएकाले नक्शाका बारेमा गृहमन्त्रालयले हल्का प्रतिक्रिया दिएको भन्दै आपत्ति जनाएका थिए ।
वि.सं.२०७७ चैत ३० सोमवार १६:२७ मा प्रकाशित






























