आज समय,
आफ्नो रफ्तार छोडेर,
शितल शितल हुँदै
यसरी मेरोलागि आइदियो ।
मेरो निरासा र एक्लोपन सबै मिथ्या भए ।
सुस्तरी सुस्तरी मुटूमा स्पर्श गरेर त्यो बतासले भन्यो–
मात्र म तिम्रो सुरक्षाकोलागि खटिएको हुँ !
उस्ले मेरो पसिनालाई
ओभाएर भन्यो–
सानी ! तिमी मेरी हौ !
तिमीमा धुलो कसिङ्गर बस्न दिन्नं म,
सबै पाउन र गुमाउन,
सिक्न र बुझ्न,
समय नै आउन पर्दो रहेछ !
विनम्र हुँदै तातो हुरीले फेरि भन्यो –
म तिमीलाई माया गर्छु ,
त्यसैले तिमीलाई पछ्याइ रहन्छु !
अल्लरिदै आउने,
लर्बरिदै आउने,
मलाई छोईरहने,
ती हावाका सबै कृयाकलाप
ती बतासका उत्श्रृखंलपन
यतिखेर मलाई जायज लागिरहेछ ।
ऊ आउँछ
मेरो समीप आईरहन्छ,
कहिले हुन्हुनाउँदै त,
कहिले भुँमरी खेल्दै,
कहिले सुस्साउँदै,
घरि सिरिठो बनेर,
घरि तातो लप्को बनेर,
समय समयमा मेरो मनको धुलो झार्न बतास आउँछ ।
म जीवन अध्ययनमा खटिरहेको हुन्छु,
आफ्नै कर्ममा तल्लिन हुन्छु,
निरन्तर हावाका झोक्काले,
मेरो केश फर्फराइ रहन्छ,
मलाई त्यो हावाले स्नान गराउँछ
अल्लरिदै आउने,
लर्बरिदै आउने,
मलाई छोईरहने,
ती हावाका सबै कृयाकलाप
ती बतासका उत्श्रृखंलपन
यतिखेर मलाई जायज लागिरहेछ ।
त्यो हावा,
त्यो बेमौसमीे हुरी,
त्यो भुँमरी,
त्यो बतासले,
हिजो पनि मलाई सधै छुन्थ्यो ।
मेरो पछ्यौरी फर्फराइदिन्थ्यो ।
म बेवास्था गर्थे,
हावाका सुसेलीहरु कानमै आएर
साउती गर्दै भन्थे–
सानी ! म तिमीलाई जीवन दिन्छु ।
म तिमीलाई प्राण दिन्छु ।
जीवनका आधा शताब्दी,
खर्चिएपछि बल्ल पो मैले,
त्यो प्रेम भनेर थाह पाएँ ।
त्यो बन्देज बिनाको
स्वतन्त्र हुरी बतासभित्रको एकमुठी श्वास पो,
साँचो प्रेमी रहेछ !
जसले मलाई
हरदम आफ्नो ठानेर छोईरहन्छ
जो म भित्र हिँडिरहन्छ ।
वि.सं.२०७८ वैशाख ११ शनिवार ०६:२८ मा प्रकाशित






























