किन यहाँ
मान्छे नै पिच्छेको कथा बनेर आउँछ–मृत्यु ?
जीवात्मा पिच्छेको व्यथा बोकेर आउँछ–मृत्यु !
प्रत्येकलाई नमर्नका लागि
छिनछिनमा हौस्याउने गर्छ–मृत्यु
र, नचाहँदा नचाहँदै कसैले पनि
फकाई फुल्याई आफ्नै डेरामा
आफ्नै तीर्थाटनमा पुर्याउने गर्छ–मृत्यु ।
मर्नुको शाश्वत सत्यलाई भुलेर
मान्छे मृत्यु परास्त गर्ने
कैयौँ उपाय खोजि टोपल्छ
जीवनलाई अनेकौं घुम्ती र मोडहरूमा घुमाउने गर्छ ,
परन्तु, विना सूचना
घटना दुर्घटना निम्त्याएर अपूर्णतामा
असरल्ल जिन्दगी बिसाउने गर्छ ।
संसार हेर्न
रुवाइको चर्को स्वर निकाल्दै
शून्यहातमा
मृत्युको पुलिन्दा लिएर
आफैँ आइपुगेको मान्छे–
जाँदा भने
पिठ्युँभरि कोसेलीपात लिएर
फिरूँलाझैँ गर्छ,
खुसी साट्न भयातुर
भौँतारिएको मान्छे–
पत्तै नपाई अस्ताचलको
ताजा खबर भएर अवसान हुन्छ ।
लक्ष्यको टाकुरीमा बिल्कुल पुग्न नभ्याउँदै
हरेक झुन्डहरूको अलपत्रतामा
अपूर्णताको विरूपाक्ष भएर
कसैको खटनपटनमा
मौलाएको जिन्दगी यो
खिन्नताको अवशेषमा
साँच्चिकै अनित्य र परित्यक्त बन्छ ।
वि.सं.२०७८ जेठ ८ शनिवार ०६:५६ मा प्रकाशित






























