घरको संघारमा कोरिएका
अदृश्य लक्ष्मणरेखा,
ढोकाकै ठिक अघि
ठिङ्ग खडा छ,
त्रासको अग्लो पहाड
अवरोध बनेर ।
कोठाका झयालबाट
उँभो आकाश नियाल्ने
निरर्थक प्रयास मेरो ।
देखिन्न निल आकाशका
एउटै सानो कुनापनि,
बस देखिन्छन् त
अघिल्तिर र पछिल्तिर
बिल्डिङ्गका केवल
बन्द झ्याल र ढोकाहरू ।
बेला बेला
घरका पछिल्तिरबाट आइरहेका
चरा चुरूङ्गीका कलरव ध्वनिले
लाग्दैछ
जीवनका केही अवशेष त
पक्कै पनि बाँचेका रहेछन्
थोरै ढुक्क बन्दैछ मन ।
घरका बन्द कोठाभित्र
संसार छ मेरो हातमा
म हेर्दैछु संसारलाई ।
शमशानको शुन्यता ओडेर
निशब्द छ शहर ।
घरका बन्द कोठाका
बन्द झ्यालबाट
पक्कै पनि म जस्तै
श्वास फेरिरहेका मानव मुर्तिहरू
एकमुट्ठी श्वासको रक्षा गर्दै
सायद ठीक्क म जस्तै
आ आफ्ना झ्यालबाट
नियाल्दै होलान
निष्प्राण शहरको चकमन्नतालाई ।
शहर धाउन सिपालु
बाँदरहरू पनि हिजआज
सायद असमञ्जसमा छन् क्यारे
शहरको भयानक सन्नाटा देखेर ।
सायद माथि जँगलका सेरोफेरो डुल्दै
सोँच्दै हुन्
के भयो यो शहरलाई ?
सायद त्रसित छन् कि ?
यसैले त आजभोलि छिमेकीको
घरका ड्रेन पाइप चड्दै
देखिएको छैनन एउटै बाँदर ।
बेला बेला
घरका पछिल्तिरबाट आइरहेका
चरा चुरूङ्गीका कलरव ध्वनिले
लाग्दैछ
जीवनका केही अवशेष त
पक्कै पनि बाँचेका रहेछन्
थोरै ढुक्क बन्दैछ मन ।
घरका बन्द कोठाभित्र
संसार छ मेरो हातमा
म हेर्दैछु संसारलाई ।
मेरो एक हातमै अटाएको संसारमा
म हेर्दैछु युद्ध विभीषिका
हेर्दैछु लोभ र लालचको पराकाष्ठा
हेर्दैछु मृत्युको ताण्डव
र हेर्दैछु अमुल्य मानव जीवनको
मूल्यहीन मृत्यलाई
धेरै नजिकबाट ।
वि.सं.२०७८ जेठ ८ शनिवार ०७:४८ मा प्रकाशित






























