रुखमा फुलिरहेका बासान्ती फूलहरू
चिसो हावाको झोँकाले
भुँइभरि झारिदिए जस्तै
मेरो ममताको फूलहरू पनि
कहिले काहीं छरपष्ट भएर
भुँइभरि झर्दो रहेछ ।
ती झरेका पत्रदलहरु
बटुल्न खोज्छु म
झनै उडाएर परपर लगिदिन्छ हावाले
पछि लगेर कुद्न पनि त सक्तिन
थाहै नपाई कति कमजोर भएछु
यो मुटु पनि किन दुखेको
नभएको भए त दुख्ने नै थिएन
माया लाग्छ
सुमसुमाउँछु म मेरो
आफ्नै दुखेको मुटुलाई र भन्छु
तिमी छौ र त म छु
म छु र त तिमी छौ ।
हुन सक्छ सायद
म नभएको भए तिमी
बन्दी गृहमा बन्द बाघ
उनमुक्त हुँदा आक्रोशित भए झैं
विष्फोट पो हुन्थ्यो कि या
मानसिकताको सकारात्मक डोरी पक्रेर
स्नेहपूर्ण हातको स्पर्श खोज्ने थियौ ।
सम्झाउँछु म मुटुलाई
यस्तै त हो यत्र तत्रं छरिएका
झुटो सपना र मायाहरु ।
म एकोहोरिएर हेरिबस्छु
ती झरेका पत्रदलहरु अनि
अनायसै टेकिपठाउँछु
मेरो निष्ठुर पाइताला मुनि
बटुल्न त खोजेकै हो बटुलिएन ।
फूल त फुल्छ नै,
फुलेर झर्छ पनि प्रकृतिको नियम नै हो
तर माया झरेर छरपष्ट भए
के फेरि फुल्न सक्ला र ?
तर
मन के मान्थ्यो र
भक्कानिएर आउँछ मन
सत्य बोध हुँदा
आखिरमा खरानी त रहेछ
यो जिन्दगानी ।
वि.सं.२०७८ जेठ १५ शनिवार ०७:४६ मा प्रकाशित





























