२१ जेठ, जर्मनी । जर्मनीमा नोभेम्बर २ २०२० देखि दोश्रो चरणको लकडाउन सुरु भयो । सात महिना यहाँ उद्योग ब्यबसाय आंशिक वा पूर्णरुपले बन्द रहेका थिए । लकडाउन कालमा ग्रोसरी पसल र उद्योग/कारखानाहरु केहि खुकुलो रहे पनि पर्यटन र अन्य सेवामुलक क्षेत्रलाई भने निक्कै कडीकडाउ गरिएको थियो ।
यो महिना (जुन) को सुरुदेखि यहाँ लकडाउन खुकुलो पारिएको छ । लकडाउन खुकुलो भए पनि सामाजिक सुरक्षाका नीति नियम भने कडा रुपमा पालना गर्नुपर्ने हुन्छ । पसल, मलहरु खुलेका छन् । रेस्टुरा, बार खुल्ने क्रम जारि छ । दुईथरिका मानिस यहाँ निर्बाध रुपमा घुमफिर गर्न पाउँछनस् दोश्रो डोज खोप लगाएको दुई हप्ता पुगेकाहरु र कोभिड-१९ को संक्रमण भएर नेगेटिभ रिपोर्ट आएकाहरु । त्यसरी घुम्न निस्कदा खोप कार्ड (एल्लो कार्ड) अनिवार्य साथमा हुनुपर्छ । शहरका कुनाकुनामा निशुल्क कोभिड टेस्ट केन्द्रहरु खुलेका छन् । माथिको दुई श्रेणीमा नपर्नेहरुले यस्ता केन्द्रमा र्यापिड टेस्ट गराउंदा आएको नेगेटिभ नतिजा देखाएर पसल, मल, रेस्टुराँमा प्रवेश गर्न सक्छन् । यो नेगेटिभ टेस्ट २४ घन्टाका लागि भ्यालिड हुन्छ ।
गत बर्ष मार्च महिनामा संक्रमण सुरु भए यता हालसम्म कोभिड-१९ का कारण ८९ हजार जर्मन नागरिकले ज्यान गुमाएका छन् । संक्रमितहरुको संख्या हालसम्म ३७ लाख पुगेको छ भने ३५ लाख ३० हजार मानिस पूर्णरुपमा स्वस्थ्य भएका छन् ।
संघिय सरकारले एकलाख जनसंख्यामा दैनिक संक्रमितको संख्या १०० नाघ्ने बित्तिक्कै प्रान्तीय सरकारलाई पुन: लकडाउन गर्न पाउने अधिकार दिएको छ ।
युरोपेली संघका देश भित्रको यात्रा बन्देज हटाइएको छ । अन्तराष्ट्रिय उडानहरु भने सबैतिर अझै सुगम भैसकेका छैनन् । नर्थ सी लगायत समुद्री तटका रिसोर्टहरुमा पर्यटक देखिन थालेका छन् । सात महिना देखि आंशिक वा पूर्णरुपले बन्द रहेका ट्रीप इन्न समुहका होटेलहरु हामी अहिले खोल्ने प्रक्रियामा छौं ।
खोप लगाउने कामले सुरुमा अपेक्षा अनुरुप गति लिन नसकेपनि अहिले भने त्यसले ब्यापकता पाएको छ । सरदार एक मिलियन मानिसले दैनिक रुपमा खोप लगाईरहेका छन् । जर्मनीको कुल ८३ मिलियन जनसंख्या मध्ये अहिलेसम्म ५४ मिलियन मानिसले खोप लगाईसकेका छन् । जसमध्ये पहिलो डोज खोप लगाउनेहरु ३७.४ मिलियन (४५ प्रतिसत) र दुवै डोज लगाउनेहरुको संख्या १६.७ मिलियन (२०.१ प्रतिसत) छ । जर्मनीमा ४ थरि खोप लगाउने सुबिधा छ : अस्त्राजेनीका, मोडेर्ना, वायोएंटेक (फाइजर) र जोहन्शन एण्ड जोह्न्शन ।
जर्मनीले बेलायत, नेपाल, भारत, ब्राजिल, दक्षिण अफ्रिका, लेसोथो, ई-स्वातिनी, मोजाम्बिक, मलावी, जिम्बावे आदि देशलाई भाइरसको अति उच्च जोखिम भएका देशमा गणना गरेको छ । यी देशबाट फर्कनेहरुले दुवै डोज खोप लगाएको भए पनि १४ दिन अनिवार्य क्वारिनटाईनमा बस्नु पर्ने हुन्छ ।
(जीवा लामिछानेको वालबाट)
वि.सं.२०७८ जेठ २१ शुक्रवार १८:४१ मा प्रकाशित



























