हरिभक्त कटुवालले
पहिला कफि शपको पल्लो बेन्चमा बसेर भन्थे
अचेल गाउँको चौतारोमा बसेर भनिरहन्छन्
यो जिन्दगी खै के जिन्दगी
मैले पनि यही भनिरहें
मेरो हजुर’बा,बा–खलकले यस्तै भनिरहन्थे
भन्ने हुन् कटुवालकै शब्द !
मेरा छोरा–छोरी, ना–नातिना र त्यो पुस्ताले
हुन पनि
प्लाष्टिकका सस्ता चप्पल जस्तै छ यो परिस्थिति
हिँड्दा नहिँड्दै बाटामै च्याट्ट टुटिगयो
कुनै युवतीको हातमा नचढ्दै काँचका चुरा जस्तै
हालको समय प्याट्ट फुटिसक्यो
प्रथम मानवकै हातमा नचढ्दै
पहिलो दर्जाकै गुँडमा नखस्दै
यो व्यवस्थाको ललिपप अण्डा
फुटिगयो प्याट्ट !
कटुवाल बिँडी के सल्काउदै थिए
मैले थुतुनोबाटै खोसेर भनिदिएँ
‘अब त बताउनुस् यो जिन्दगीको खै ! र केको रहस्य ?’
कटुवाल झन् मौन भए
पहिला म कफि सफको वल्लो टेबुलमा थिएँ
पछि देउरालीको रोदीघर नेर
गिलासमा टाँसिएको शीत संकलन हुञ्जेल कुरें
र अन्तिम एक थोपा पनि पिएर ब्युँझिएँ
भोलि कतै फेला पारेँ भने कटुवाल बाजेलाई
कहाँ छोड्छु त्यसै !
जिन्दगी र खै ! को जवाफ नमागी
आज उम्किगए
म पनि झपक्क भएँ र पो
वि.सं.२०७८ असार १९ शनिवार ०६:३३ मा प्रकाशित






























