बुझ हे ! दुनियाँ, मृदु जीवन यो, सुरु भै भवमा, पछि जान्छ ढली
किन मोह ठुलो, गरिराख्दछ मानव जानुछ है, बुझ घाट जली
जब लोभ घुस्यो, तब मानवमा शुभ चेत गुमी भरियो विष नै
सुन जीवन नै यदि तिक्त भएपछि के शुभ हुन्छ र यो जगमै
. (१)
सुख, दुःख दुबै, यस जीवनका, गहना बुझिए, मन शान्त हुने
सुन सज्जन हो, अति सौम्य हुने, यदि मानवले, शुभ कर्म चुने
बुझ यो दिलमा, प्रतिघात हुँदा, अति दर्द हुने, मन दिक्क भई
अब साँच्नु छ जीवन सार्थक भै, बस जीवनमा अति सभ्य रही
. (२)
जति स्वार्थ ध¥यौँ, उति दुःख भ¥यौँ, बुझ मानव हो, सत कर्म गरी
अब बस्नुप¥यो, धरती तलमा, मृदु चिन्तनको, शुभ ज्योति छरी
जब मानवता, भवको बिचमा, अति सङ्कटमा, यदि पर्न गए
तब जीवन दुख्दछ हेर न मानव सौम्य धरा यदि शून्य रहे
. (३)
शुभ चिन्तक भै, रहँदा जगमा, सब दिव्य हुने, हरिलो भरिलो
मन शान्ति भए, बुझ यो भवमा, जन हुन्छ सधैँ, हँसिलो सुकिलो
गर इज्जत यो, सबमा बसिँदा, घरमा जहिल्यै, शुभकार्य हुँदा
जब आदर यो गरिए सबमा, मनमा भरिने शुभलाभ घडा
. (४)
अब जीवनमा, बुझ मानव हो, शुभ मार्ग धरौँ, धरती तलमा
यदि कर्म गरे, नित सार्थक यो, भव चल्दछ केवल सत् बलमा
बन सज्जन चिन्तक नायक गायक जीवनमा लिन दिव्य सुधा
अझ बन्नुछ साधक रक्षक यो बुझ पुछ्नुछ आँसु स्वदेश रुँदा
. (५)
छन्द-दुर्मिला
स स स स स स स स
iis iis, iis iis, iis iis ,iis, iis
वि.सं.२०७८ असार २६ शनिवार ०६:१४ मा प्रकाशित





























