हाम्री प्यारी पुण्य माता उनै हुन्
फल्ने फुल्ने अन्न दाता उनै हुन् ।
आफ्नै ठान्छन् हैन पेवा कसैको
साझा धर्ती बास हो यो सबैको ।।१।
खेतीपाती अन्न फल्छन् गरामा
हावापानी नित्य घुल्छन् धरामा ।
तेरोमेरो भन्नु यो छैन हेर
बाँचौँ पृथ्वी हो सबैको भनेर ।।२।
कोही लड्छन् जित्छु बाजी भनेर
कोही बढ्छन् वीर योद्धा बनेर ।
जित्ने हार्ने खेल यो हैन साथी
धर्ती ठान्छिन् युद्ध रच्ने नजाती ।।३।
नेपाली भै गर्व गर्छौँ धरामा
हाँस्छौँ खेल्छौँ यी कुना कन्दरामा ।
खोजूँ यस्तो छैन भूगोल अर्को
धर्ती जस्तो भव्य माहोल अर्को ।।४।
माया बाँड्ने दिव्य धर्ती अपार
आभा फुल्ने घाम झै त्यो मुहार ।
धर्ती मासे पूर्ण रित्तिन्छ झोली
जोगाएमा बास मिल्ने छ भोलि ।।५।
छन्द: सालिनी
वि.सं.२०७८ साउन २ शनिवार ०७:०६ मा प्रकाशित






























