(१)
फस्टाउने शक्ति भए, संसार ढाक्छ एउटै बिउले ।
महाभारत युद्ध भाथ्यो, दाजुभाइको सानै निउँले ।
हस्तिनापुर हातपार्न कैयौं युद्ध लड्नु पर्छ,
विपनामा जीउ लाग्दैन, सपनामा खाको घिउले ।।
(२)
जस्को हातमा घाउ देख्छु ठेलादेख्छु खील देख्छु,
अक्सर तिनकै वरिपरि, परिस्थिति जटील देख्छु ।
कस्ले को¥यो समाजको कारुणींक चित्र यस्तो ?
छचल्किने हर आँखामा,उन्मुक्तिको अपील देख्छु ।।
(३)
कि चिप्लाले मार्छन् बाजि,कि मालदार हुनुपर्छ ।
यो संसारमा टिकिराख्न,कि खुंखार हुनुपर्छ ।
घरवारदेखि बिरक्तेर मान्छे जोगी बनी हिंड्छन्,
जोगी भाको भोलिपल्टै, पाकेटमार हुनुपर्छ ।।
(४)
गजब देख्छु दुनियाँको, चालचलन गजब हेख्छु,
कुनै घरमा रुवाबासी,कुनै घरमा उत्सव देख्छु ।
जीवनजलको अभावमा कतै जीवन धरापमा छ,
कतैचाहिँ कालोधनको, वेसुमार फैलाव देख्छु ।।
(५)
न कुराले छाकटर्छ,न छानामा कलम छाउनु,
नियति नै बनिसक्यो, लाञ्छना र जलन पाउनु ।
अन्यौलमै बित्नेभयो यो ‘हरि’को जिन्दगानी !
सयौं घाउ जीउमा छन्, कुनमा मात्रै मलम लाउनु ?
वि.सं.२०७८ साउन २ शनिवार ०७:०७ मा प्रकाशित






























