२८ जुलाई, बेल्जियम । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए) बेल्जियममा खड्ग केसी अध्यक्षमा निर्वाचित भएका छन् ।
जु्लाई २५ मा सम्पन्न एनआरएनए बेल्जियमको निर्वाचनमा स्वतन्त्र समावेशी समुहका उम्मेदवार केसीले ८५५ मतसहित अध्यक्षमा विजयी भएका छन् । उनका प्रतिद्धन्दी चेत प्रसाद भट्ट (लोकतान्त्रिक गठबन्धन समुहका) ले ६०९ र अनुजा प्रधानले १६० मत ल्याएर पछि परेका छन् ।
त्यस्तै समितिको उपाध्यक्षमा लाल बहादुर गुरुङ, तीर्थराज धमला, महिला उपाध्यक्षमा सुशीला खतिवडा ( निर्विरोध), युवा उपाध्यक्षमा राजेश केसी, महासचिवमा रमेश कंडेल, सचिवमा जगदीश सुवेदी, सुवास भट्ट, महिला सचिवमा सावित्री गिरी (निर्विरोध) कोषाध्यक्षमा पुष्प नेपाल र सहकोषाध्यक्षमा बेरी ढुंगाना निर्वाचित भएका छन् । साथै महिला संयोजकमा ईश्वरा शर्मा, सहसंयोजकमा सैलजा शर्मा कट्टेल र युवा संयोजकमा राजु पाख्रिन निर्विरोध निर्वाचित भएका छन् ।
त्यस्तै समितिको सदस्यहरुमा कृष्ण पुन, दीपक थापा मगर, दीपक गुरुङ, राजुप्रसाद बराल, लक्ष्मी सुबेदी, तारा विष्ट पौडेल, पार्बता शर्मा, ज्ञानु बरुवाल र रविना शर्मा चयन भएका छन् ।
त्यसैगरी रोशन जोशीले ७४४ र गंगा प्रसाद शर्माले ७१९ मत ल्याएर संघको आइसिसि सदस्यमा निर्वाचित भएका छन् ।
यी हुन् क्षेत्रिय संयोजकहरु
त्यसैगरी संघको क्षेत्रिय संयोजकहरुमा आन्त्रोपेनबाट ऐलेन खड्का, लुभेनबाट शेखर राई, गेन्टबाट दीपक सापकोटा, व्रुजबाट दौलत साम्बा र ब्रसेल्सबाट अर्जुन घिमिरे चयन भएका छन् ।
विवादका बिच सकियो निर्वाचन
२५ जुलाईमा सम्पन्न एनआरएनए बेल्जियमको निर्वाचनमा बेल्जियमका बिभिन्न सहरका सात ठाउँमा रहेका बुथमा मत खसेको थियो । तर आन्त्रोपेन क्षेत्रमा केही व्यक्तिहरुले विदेशी नागरिकहरुको समेत सहयोगमा बुथ कब्जा गर्ने प्रयास गरेका थिए । सोहि क्रममा मतपत्र च्यात्नुका साथै निर्वाचिन समितिका आयुक्त र केही अन्यमाथि कुटपिट भएको समाचार समेत बाहिर आएका थिए ।
सबै बुथमा खसेका मतहरु सुरक्षित राखिएको बताएको निर्वाचन समितिले केन्द्रको निर्णय पर्खिएर बसेको थियो । केन्द्रका प्रवक्ता डिबी क्षेत्रीद्धारा सार्वजनिक गरिएको विज्ञप्तिमा उक्त घटनामा संलग्न जोकोहीलाई पनि पन्जिकृत सदस्य समेत नरहने गरि कारबाही गरिने चेतावनी दिइएको थियो ।
अन्त्यमा आन्त्रोपेन क्षेत्रको बाहेक अन्य बुथमा जति मत खसेको छ त्यसको मात्रै गणना गर्ने र आन्तोरपेनमा खसेका मत गणना नगर्ने तथा पुनः मतदानमा पनि नजाने भनेर गरिएको सर्वपक्षीय भेलाको निर्णय अनुसार उम्मेदवारहरुको सहमतिपछि स्थान परिवर्तन गरेर मत गणनाको सुरुवात गरिएको थियो । जसमा अध्यक्ष केसी अध्यक्षमा बिजयी बनेका थिए ।
एनआरएनए बेल्जियमको निर्वाचनमा बुथ कब्जा प्रकरणः केन्द्रले चाल्यो यस्तो कदम
वि.सं.२०७८ साउन १३ बुधवार १४:५० मा प्रकाशित






























